१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा खुला दिसामुक्त अभियानः सदरमुकामवासी नै दुर्गन्ध सहन बाध्य



सन्तोष शर्मा

२८ मंसिर, बनियानी— झापा ।
झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियान चलिरहेका बेला सदरमुकामवासी नै दिसापिसाबको दुर्गन्ध सहन बाध्य भएका छन् । जिल्ला कारागार झापाको शौचालयबाट निस्किएको मलमूत्र जथाभावी फाल्दा यहाँका स्थानीयवासी दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका हुन् ।

भद्रपुर ९ की स्थानीयवासी कालिका न्यौपानेको जग्गामा कारागारले मलमूत्र फालेपछि गाउँ नै दुर्गन्धित बनेको हो । कारागारभित्र रहेको शौचालयको फोहर व्यवस्थित नगर्दा नजिकै रहेका दर्जनौँ परिवार दुर्गन्धमा बस्न बाध्य भएको न्यौपानेले बताइन् ।

बुधबार न्यौपानेसहित स्थानीयवासीको समूहले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई कारागारको फोहरका कारण बसोबास गर्न नै समस्या भएको जानकारी गराएका छन् । शौचालयको फोहरले न्यौपाने परिवारको एक बिगाह जमिनमा लगाइएको धान काट्न समस्या भएको छ ।

“खेतमा धान पाकिसकेको छ,” न्यौपानेले भनिन्, “मजदुरले काट्न मान्दैनन्, दुर्गन्धले झनै समस्या भएको छ ।” लामो समयदेखि फोहर व्यवस्थापन गर्नभन्दा पनि कारागार प्रशासनले बेवास्ता गरेको स्थानीयवासीको आरोप छ । कारागार प्रशासनले आफूहरुले समाधान गर्न नसक्ने भन्दै जिल्ला प्रशासन जान सुझाव दिने गरेको पीडित परिवारको भनाइ छ ।

कारागार प्रमुख यज्ञ निरौलाले यो पुरानै समस्या भएको प्रतिक्रिया दिए । उनले समाधानमा पहल गर्ने प्रयास गरेको प्रतिक्रियासमेत दिए । “कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी छन्, फोहर व्यवस्थापनमा कठिनाइ भएको छ,” उनले भने, “म एक्लो मान्छेले के गर्नु रु” प्रमुख निरौलाले यस विषयमा नगरपालिका र जिल्ला समन्वय समितिमा जानकारी गराएको बताइन् ।

यता, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले समस्या समाधानका लागि सरोकारवालासंग पहल गर्ने बताए । झापा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने समय नजिकिँदै जाँदा कारागारको शौचालय भने दिनहुँ अव्यवस्थित बन्दै गएको छ ।
रासस

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहिबार ००:००