२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसले मतान्तरमा इतिहास रचे



रमेश लम्साल
२३ मंसिर, काठमाडौँ ।
प्रतिनिधिसभा निर्वाचनमा दोलखा र रुकुम पश्चिमका उम्मेदवार प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएर इतिहास कायम गर्ने उम्मेदवारमा दोलखाका पार्वत गुरुङ देखिएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवार गुरुङले प्रतिस्पर्धीभन्दा ३० हजार १५३ मतले विजयी भएर रेकर्ड कायम गरेका हुन् ।

यस्तै रुकुम पश्चिममा प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा पनि प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर बढी मतले विजयी बने । दोलखामा गुरुङले ५५ हजार २५४ मत प्राप्त गरे । उनले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार १५३ मतले पछाडि पार्दै विजयको झण्डा फहराए । खड्काले २५ हजार ८०१ मत प्राप्त गरेका हुन् ।

गुरुङले यो मत सम्भवत बहुदलपछिको निर्वाचनमा विजयी उम्मेदवारले पाएको सर्वाधिक मत हो । यसभन्दा अगाडि पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट गोरखा २ बाट उम्मेदवार बनेका डा बाबुराम भट्टराईले ल्याएका थिए । त्यस्तै यो निर्वाचनमा अहिलेसम्मको परिणामलाई हेर्दा गुरुङ सबैभन्दा बढी मतान्तरसहित विजय हुने उम्मेदवार बनेका छन् ।

आफूलाई दोलखाली जनताले अत्याधिक मत दिएर विश्वास गरेको बताउँदै गुरुङले मतको सम्मान गरेर जाने उल्लेख गरे । इतिहास कायम गर्दा कस्तो लागेको छ भन्ने प्रश्नमा नवनिर्वाचित सांसद् गुरुङले भने, “यो नेपाली जनताको जित हो । वाम गठबन्धनको जित हो । नेपाली जनताले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि खोजेका छन् । त्यसलाई सम्मान गरेर सबैलाई साथमा लिएर जान्छु ।”

त्यस्तै प्रदेशसभा क मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरेका छन् । यो मतान्तर पनि प्रतिस्पर्धी भन्दा धेरै हो ।

प्रदेशसभा ख मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईँले २३ हजार ३८ मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रेसका केशव चौलागाईंले १० हजार ८८० मत प्राप्त गरेका छन् ।

रुकुम पश्चिममा शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोपालजी जंग शाहले १५ हजार ६५९ मत प्राप्त गरेका हुन् । शर्मा र शाहबीच १८ हजार ७४३ मतान्तर रहेको छ । रुकुम पश्चिममा ५५ हजार ३ सय ८५ मत खसेको ५१ हजार ९१५ मत सदर र ३ हजार ४७० मत बदर भएको छ ।

रुकुमका जनताले आफूलाई पटकपटक धेरै मतान्तरले विजयी गराएकामा खुसी व्यक्त गर्दै उनले भने, “पश्चिम रुकुममा जनताले सधैँ परिवर्तनकारी शक्तिलाई विश्वास गर्दै आएका छन् । यसपटक पनि माओवादी केन्द्र र वाम गठन्धनलाई विश्वास गरे । जनताको यो विश्वासलाई केन्द्रमा राखेर हामी अगाडि बढ्छौँ ।”

यस्तै सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले पनि प्रतिस्पर्धी भन्दा १० हजार बढी मतान्तरले विजयी भएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका सापकोटाले बहालवाला सञ्चारमन्त्री कांग्रेसका मोहनबहादुर बस्नेतलाई १० हजार ७०६ मत अन्तरले पराजित गरेका हुन् ।

सापकोटाले ४० हजार ५०४ मत पाउँदा बस्नेत २९ हजार ७९८ मत प्राप्त गरेका थिए । उनले आफू र आफ्नो गठबन्धनलाई विजयी गराउने सिन्धुबासी जनताको भावनालाई सधैँ सम्मान गरेर जाने संक्षिप्त प्रतिक्रिया दिए ।

यस्तै धेरै मतान्तरसहित लमजुङ प्रदेशसभा ख बाट वामगठबन्धनका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । एमाले सचिवसमेत रहेका गुरुङले २३ हजार १८८ मत ल्याई कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई पराजित गरेका हुन् । कोइरालाले १५ हजार १२२ मत पाएका छन् ।

विसं २०६४ को संविधानसभा चुनावमा सोही क्षेत्रबाट विजय हासिल गरेका थिए । उनी एमालेको तर्फबाट प्रदेश नं ४ को मुख्यमन्त्रीका दाबेदारसमेत हुन् ।

यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहुन भएका उपेन्द्र यादवले पनि प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी हुनु भएका छन् । अध्यक्ष यादवले माओवादी केन्द्रका उमेश यादवलाई सप्तरी २ बाट पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका हुन् । यादवले २१ हजार ६२० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५८४ मत पाएका छन् । उपेन्द्रलाई नेपाली कांग्रेस, राजपाले समर्थन गरेका थिए ।

यस्तै काठमाडौँ २ मा पूर्वप्रधानमन्त्री तथा एमालेका माधवकुमार नेपाल पनि प्रतिस्पर्धी भन्दा झण्डै ११ हजार मतान्तरले विजयी भएका छन् । उनले २५ हजार ६३३ मत ल्याउनु भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुईँकेलले १४ हजार २०७ मत प्राप्त गरे ।

यसैगरी धादिङमा पनि वाम गठबन्धनका भूमि त्रिपाठीले ४९ हजार १२१ मतका साथ विजयी भएका छन् । यो मतान्तर दोब्बर बढी हो । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत ल्याएका छन् । एक लाख १८ हजार १५० मतदाता रहेको क्षेत्र नं १ मा ७९ हजार ४२३ मत खसेको थियो ।

प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेश क मा वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मतसहित विजयी भएका छन् । उनी काग्रेसका मधुकुमार श्रेष्ठभन्दा १३ हजार ६८५ मत बढी ल्याएर विजयी भएका हुन् । पैंसठ्ठी हजार ४५८ मतदाता रहेको सो प्रदेशमा ४३ हजार ५६४ मत खसेको थियो ।

यसैगरी सो क्षेत्रको प्रदेशसभा ख मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन् । बाउन्न हजार ६९२ मतदाता रहेको सो प्रदेशमा ३५ हजार ८५९ जनाले मतदान गरेका थिए ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००