९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पैँतालिस जिल्लामा दोस्रो चरणको निर्वाचनमा मतदान शुरु



हरि लामिछाने
२१ मंसिर, काठमाडौँ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान शुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान शुरु भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको यस निर्वाचनमा सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

यसअघिको निर्वाचनमा भन्दा यसपटक बढी मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यही मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आजको निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि लागि दुई हजार ८१९ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदका लागि पाँच हजार ८३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् ।

आज प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान हुँदैछ । त्यसैगरी, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि मतदान शुरु भएको छ ।

प्रदेश नं ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदान हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु देउवा राणाले यस निर्वाचनमा डडेल्धुराको रुवाखोलास्थित शशिग्राम माविको मतदान केन्द्रबाट मतदान गर्ने छन् । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

त्यस्तै, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भरतपुर महानगरपालिका वडा नं १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्दै छन् ।
रासस

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहिबार ००:००