२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छः नेता नेपाल

लेखक स्थानीय खबर १७ मंसिर २०७४, आइतबार २ मिनेट पढाइ

१७ मंसिर, काठमाडौँ ।
नेकपा एमालेका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बनेपछि मुलुकमा काममा ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुने बताए ।

प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेस्कले आयोजना गरेको काठमाडौँ जिल्ला वाम प्रगतिशील गठबन्धनका उम्मेदवारसंग अन्तरक्रियामा उनले वाम गठबन्धनको सरकार बनेपछि कानूनी शासनको प्रत्याभूति र जनतालाई स्वदेशमै रोजगार उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

एमाले र माओवादीबीच चुनावी तालमेल मात्र नभएर चुनावपछि पार्टी एकीकरण हुने भन्दै उनले सम्पूर्ण कम्युनिष्ट एक भएर देशको विकास गर्नुपर्नेमा जोड दिए ।

नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन र जलविद्युत्को विकास गरी नेपालको अर्थतन्त्र बलियो बनाउने उल्लेख गर्दै उनले सबै नेपालीको जीवनस्तर उकास्न पर्यटन र जलविद्युत्को विकासबाट गर्न सकिने आधार भएको बताए ।

मतदाता शिक्षाअन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति एमालेको गम्भीर ध्यानाकर्षण

यसैगरी नेकपा एमालेले निर्वाचन आयोगद्वारा विभिन्न १० टिभी स्टेशनबाट प्रसारण गर्नेगरी सञ्चालन गरेको मतदाता शिक्षाअन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको प्रेस विज्ञप्तिमा अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको क्विजमा आयोगले नेपाली कांग्रेसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘ती दुई उम्मेदवार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखिएकोप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ ।

सत्ताधारी दलको खास उम्मेदवारलाई आयोगको उम्मेदवारका रुपमा प्रस्तुत गरिएकामा आपत्ति जनाउँदै एमालले निष्पक्ष भनिएको आयोगले कुनकुन उम्मेदवारका पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको भन्ने कुरा स्पष्ट पार्न आग्रह गरेको छ ।
रासस

प्रकाशित मिति : १७ मंसिर २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।