१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा ५०० सिसी क्यामेरा राखिने



११ मंसिर, पोखरा ।
पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ ।

स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका वक्ताले सिसी क्यामेरा जडानसंगै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सुरक्षा नगरका लागि अक्सिजन जस्तै अपरिहार्य भएको बताउँदै सिसी क्यामेरा जडानले आपराधिक मानसिकता कमजोर बन्दै यसको न्यूनीकरणमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

सिसी क्यामेरा जडानको अभियान सकारात्मक भएको उल्लेख गर्दै उनले यसलाई नतिजामुखी बनाउन सुझाव दिए । पोखरालेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्मार्ट सिटीको अवधारणालाई साकार पार्न सिसी क्यामेराको जडान आवश्यक भएको बताए ।

सरोकार भएका निकायबीच सहकार्य गर्दै यस अभियानलाई साकार पार्दै लागिने बताउँदै उनले यसका प्राविधिक पक्षबारे बृहत् छलफल गरी अघि बढिने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले प्रारम्भिकरुपमा महानगरभित्र ५०० सिसी क्यामेरा जडान गर्ने सोच राखिएको र यसका लागि लगभग पाँच करोड लागत लाग्ने अनुमान गरिएको जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत यस अभियानमा संघ हातेमालो गर्दै अघि बढ्ने उनले बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पर्यटकीय नगरी पोखराका लागि सुरक्षा प्रमुख चुनौती भएको बताउँदै सिसी क्यामेरा जडानसंगै यसलाई कसरी दिगो व्यवस्थापन गर्नेतर्फ बेलैमा सोच्नुपर्नेमा जोड दिए ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार ००:००