४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीमा कांग्रेस र राप्रपा प्रजातान्त्रिकको चुनावी मोर्चा



२८ कात्तिक, बुटवल ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक गठबन्धन बनाएका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले रुपन्देहीमा पनि संयुक्त चुनावी मोर्चा बनाएका छन् ।

निर्वाचनको तयारीका लागि यी दुवै पार्टीले निर्वाचन परिचालन कमिटी निर्माण गर्ने र संयुक्त निर्वाचन अभियान सञ्चालन गरेका छन् ।

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले रुपन्देहीमा प्रतिनिधिसभामा क्षेत्र नं ३ मा राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष तथा वर्तमान स्वास्थ्य मन्त्री दीपक बोहरालाई नेपाली कांग्रेसले समर्थन गरेको छ भने अन्य चार निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई राप्रपा प्रजातान्त्रिकले समर्थन गरेर निर्वाचनमा गएका छन् ।

यस्तै, निर्वाचनको तयारीका क्रममा जिल्लाको क्षेत्र नं १ मा नेपाली कांग्रेस क्षेत्रीय सभापति हिराबहादुर खत्रीको संयोजकत्वमा दुवै पार्टीको पाँच हजार १०१ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

यसको सहसंयोजकमा सीताराम सिंह र सचिवमा वैजनाथ सहनी रहेका छन् । त्यसैगरी, नेपाली कांग्रेसका जिल्ला सदस्य वासुदेव रिमालको संयोजकत्वमा दुई हजार ५०० सदस्यीय प्रदेश सभा ‘क’ तर्फ निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ । यसको सहसंयोजकमा वीरबहादुर क्षेत्री रहेका छन् ।

कार्यक्रम नेपाली कांग्रेस क्षेत्रीय सभापति हिराबहादुर खत्रीको सभापतित्व, खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको थियो । सोही अवसरमा मन्त्री रज्जाकले लोकतान्त्रिक गठबन्धनलाई जिताउन सबै एक हुने बेला आएको बताए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं क्षेत्र नं १ का प्रदेशसभा उम्मेदवार ताहिर अली, पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

यसैगरी, नेपाली कांग्रेस क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार भरतकुमार शाहले नेपाली कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्री शाहले विकास निर्माणका अधुरा काम पूरा गर्नकालागि आफूले उम्मेदवारी दिएको बताए ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलबार ००:००