१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङ १ का उम्मेदवारको कार्यसूचीः पर्यटन विकास



सुमन घिमिरे
२६ कात्तिक, उर्लाबारी— मोरङ ।
मोरङ निर्वाचन क्षेत्र नं १ सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिए पनि सो क्षेत्र पर्यटकीय हिसाबले भने निकै महत्वपूर्ण मानिन्छ ।

पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा रहेका क्षेत्रलाई समेटेर निर्माण भएको एक नं निर्वाचन क्षेत्रका अधिंकाश भूभाग पहाडी तथा दुर्गम क्षेत्रमा पर्छन् । जिल्लाका उर्लाबारी नगरपालिका तथा लेटाङ, मिक्लाजुङ र केराबारी गाउँपालिकालाई समेटेर एक नं निर्वाचन क्षेत्र बनाइएको हो ।

सो क्षेत्रका सबै स्थानीय तहमा पर्यटकीय क्षेत्रको सम्भावना रहेको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि सो क्षेत्रका उम्मेदवारहरु पर्यटकीय क्षेत्रको विकास गर्ने मुख्य कार्यसूची बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।

यस निर्वाचन क्षेत्रको सबैभन्दा बढी पर्यटकीय क्षेत्रको सम्भावना बोकेको केराबारी गाउँपालिकामा अवस्थित जेफाले डाँडा हो । एक हजार ९७० मि उचाइमा रहेको जेफाले दृश्यावलोकन स्तम्भबाट पूर्वका १६ जिल्लाका साथै सूर्योदय, सूर्यास्त, हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न सकिन्छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडाले छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकको मन लोभ्याउने गरेको छ । जेफाले क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान बस्नको सुविधा प्रदान गर्ने उद्देश्यले घरबास कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ ।

आवश्यक प्रचारप्रसार र त्यहाँसम्म पुग्ने सडक यातयातको समस्याले गर्दा भने सो पर्यटकीय क्षेत्रको विकास तीव्र रुपमा हुन सकेको छैन ।

मोरङ–१ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमाले का घनश्याम खतिवडाले जेफाले डाँडालाई प्रदेश नं १ कै एउटा मुख्य पर्यटकीय क्षेत्र बनाउन सबैभन्दा पहिले पूर्वपश्चिम राजमार्गबाट सहज रुपमा सडक यातायात विस्तार गर्नुपर्ने बताए ।

उनका अनुसार सडक सञ्जालले यस क्षेत्रलाई जोड्न सकेमा धनकुटाको भेडेटार जस्तै पूर्वी नेपालको पर्यटन केन्द्रका रुपमा विकास गर्न सम्भवाना छ । उनले भने “जेफालेसहित यस क्षेत्रमा रहेका अन्य पर्यटनको सम्भावना बोकेका क्षेत्रको विकास गर्दै स्थानीयवासीको जीवनस्तरमा सहयोग पु¥याउनु मेरो लक्ष्य रहनेछ ।”

यस्तै सोही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार जिल्ला सभापति एवं पूर्वसांसद डिगबहादुर लिम्बूले पनि यस क्षेत्रको पर्यटकीय विकासलाई नै आफ्नो मुख्य चुनावी कार्यसूची बनाएका छन् । उत्तरी मोरङमा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहे पनि राजनीतिक अस्थिरताले विकास हुन नसकेको बताउँदै नेता लिम्बूले आगामी निर्वाचनमा आफू विजयी भएमा आफ्नो मुख्य ध्यान यसैमा केन्द्रित रहने बताए ।

यस निर्वाचन क्षेत्रमा सिमसारको शहरका रुपमा चित्रित उर्लाबारी नगरपालिकामा छ सिमसार क्षेत्र, मिक्लाजुङ डाँडा, नेसेलुङ डाँडा, गुफापोखरी, धोजेडाँडा, राजारानी ताल, जाँते झरना, धिमाल ग्रामथान, चुलीपोखरीलगायत क्षेत्रले पर्यटकीय सम्भावना बोकेकाछन् ।

हाल चुनावी प्रचारप्रसार अभियानमा पनि यी दुवै उम्मेदवारले पर्यटकीय क्षेत्रको विकाससंगै विकास निर्माणलाई नै मुख्य कार्यसूची बनाएका छन् । सडक यातयातको विस्तार र विकाससंगै उत्तरी मोरङलाई पर्यटकीय क्षेत्रका रुपमा विकाश गर्ने भन्दै दुवै उम्मेदवार मत माग्न मतदाताकहाँ पुग्ने गरेका छन ।

दोस्रो संविधानसभाको निर्वाचनमा पनि यी दुवैबीच प्रतिस्पर्धा भएको थियो जसमा लिम्बूले दुई हजार २१३ मतान्तरले खतिवडालाई हराएका थिए ।

सो निर्वाचन क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अशोक चेम्जोङ, नेपाल संघीय समाजवादी पार्टीबाट नरेन्द्रशम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका फिपराज लिम्बू, नयाँ शक्ति पार्टीबाट हरिप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट राजकुमार लिम्बू तथा स्वतन्त्रबाट यामप्रसाद दाहाल र भीमबहादुर तामाङ पनि चुनावी प्रतिस्पर्धामा छन् । सो निर्वाचन क्षेत्रमा एक लाख सात हजार २३५ मतदाता छन् ।
रासस

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतबार ००:००