१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी शुरू



२४ कात्तिक, पोखरा । गृह मन्त्रालयले आयोजना गरेको निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी शुरु भएको छ । गोष्ठीमा प्रदेश नं ४ र ५ अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहित १६० जनाको सहभागिता रहेको छ ।

गोष्ठीमा सुरक्षा निकायका प्रमुखले जिल्लाको सुरक्षा स्थिति मजवुत रहेकोले दुवैचरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास दिलाए ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले गोष्ठीको उद्घाटन गर्दै चुनाव जसरी पनि आफू र आफ्नो पार्टीले जित्नैपर्छ भन्ने मनस्थिति दलमा रहेकोले आयोगले यसलाई सुरक्षा चुनौतीको रुपमा लिएको बताए ।

चुनावको प्रचारप्रसारका क्रममा दलका उम्मेदवार र कार्यकर्ताबीच अस्वस्थ्य प्रतिस्पर्धा र मुठभेड हुनसक्ने भएकाले यसलाई रोकेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने उनको धारणा थियो ।

गृह सचिव मोहनकृष्ण सापकोटाले देशको सुरक्षा अवस्था सामान्य रहे पनि निर्वाचनका बेला हुन सक्ने निर्वाचन विरोधी गतिविधिलाई ध्यानमा राखेर सुरक्षाकर्मी तयारी अवस्थामा रहनुपर्ने विचार व्यक्त गरे ।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दवाडीले निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायको काँधमा अहम् भूमिका रहेको बताए ।
रासस

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार ००:००