१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाः घोषणापत्र सार्वजनिक



 

२१ कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महेन्द्रको राष्ट्रवाद र बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीले अवलम्बन गर्ने बताएका छन् ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोजना गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकता, सुरक्षा, एकताको संरक्षणका लागि दुवै नेताका आदर्श उपयुक्त रहेको बताए ।

ऊर्जा एवं उपप्रधानमन्त्री थापाले सनातन हिन्दू राष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उद्दारबाद चार वैचारिक आधारस्तम्भका रुपमा लिइएको जानकारी दिए ।

घोषणापत्रमा सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको नेपाली पहिचानका रुपमा सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र पुनःस्थापना गरिने उल्लेख छ । संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

दीर्घकालीन महत्व राख्ने राष्ट्रिय विषयमा जनताको राय बुझ्न जनमत संग्रहको विधि अवलम्बन गरिनेछ । महिला सशक्तीकरण, अल्पसंख्यकको सुरक्षा, ग्रामीण इलाकामा बैंक शाखा विस्तार र प्रत्येक नागरिकको बैंक खाता खोल्ने व्यवस्था गरिने छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनको स्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने विषय पनि उल्लेख गरिएको छ । आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, रुग्ण उद्योग सञ्चालन गरी एक घर एक रोजगारीको अवधारणा कार्यान्वयन गरेर १० वर्षभित्र दुई प्रतिशतले आर्थिक वृद्धिदर थप गरिने योजना छ ।

घोषणापत्रमा वीर अस्पताल सरहका अस्पताल नयाँ संरचनानुसार सातै प्रदेशमा स्थापना गरी स्वास्थ्य क्षेत्रमा सबैको पहुँच विस्तार गर्ने भनिएको छ । काठमाडौँ–हेटाँैडा जोड्ने सुरुङमार्ग, काठमाडौँ–जुम्ला जोड्ने राजमार्ग, काठमाडौँ बाहिरी चक्रपथ, तराई–मधेशको मेची महाकाली हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, काठमाडौँ–तराई द्रुतमार्ग, मेचीकाली विद्युतीय रेलमार्ग, कोशी तथा नारायणी नदीमा जलमार्गजस्ता यातायातको सञ्जाल निर्माण गरिने छ । जलस्रोतको एकीकृत विकासका लागि एकीकृत जलस्रोत मन्त्रालयको पुनःस्थापना गरिने कुरा घोषणापत्रमा उल्लेख छ ।
रासस

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलबार ००:००