२९ चैत्र २०८०, बिहिबार | Fri Apr 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा लामखुट्टे मार्न मालाथिनको धुवाँ




काँकडभिट्टा
, ९ कात्तिक । डेंगु संक्रमणको भयावह स्थिति भएपछि झापाका मुख्य नगर बिर्तामोड, भद्रपुर र अर्जुनधारामा लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ (फगिङ) छर्किन थालिएको छ ।

स्थानीय नगरपालिकाले रोगको जड लामखुट्टे नै मारेर सखाप पार्ने उद्देश्यले फगिङ विधिमार्फत विषादी छर्किन थालेको हो । धुवाँ फैलेपछि लामखुट्टे मर्छन् । भद्रपुर नगरपालिकाले बुधबार अपराह्नदेखि बिर्तामोड र अर्जुनधारा र भद्रपुर नगरपालिकाका विभिन्न वडामा फगिङ गरेको छ ।

हालसम्म झापामा ४०० लाई डेंगु संक्रमण भइसकेकामा ३०० भन्दा बढी बिरामी बिर्तामोड नगर क्षेत्रका छन् । रोगको प्रकोप भयावहरूपमा फैलिरहँदा समेत नगरपालिकाले खासै नियन्त्रणको उपाय नअपनाएको भनी आलोचना भइरहेका बेला बुधबारदेखि तीन वटै नगरमा मालाथिन फगिङ थालिएको हो ।

अर्जुनधारा ७ की ३५ वर्षीय सुनिता बराल अधिकारीको डेंगु रोगकै कारण मृत्यु भइसकेको छ । अर्जुनधारा नगरपालिकाले सो वडामा समेत मालाथिनको धुवाँ छर्केको छ ।

नगरपालिकाले केही नै काम गरेन भनेर सर्वत्र आलोचना हुन थालेपछि सहरका गल्लीमा मालाथिनको धुवाँ छर्किन थालिएको हो । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले धुवाँ छर्किनेभन्दा लामखुट्टेको लार्भा खोज्ने र नस्ट गर्ने नियन्त्रण विधिलाई बढी उपयुक्त मान्दै आएको छ । विषाक्त धुवाँले लामखुट्टेलाई मात्र नभएर मानव स्वास्थ्यमा समेत हानि पुर्याउने भएकाले डब्ल्युएचआको त्यस्तो भनाइ आएको हो ।

नगरपालिकाले मालाथिन छर्किने स्थानबारे नगरवासीलाई अग्रिम जानकारी गराएर धुँवाको हानिबाट समेत जोगिन अग्रिम सतर्क गराएको छ ।
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहिबार ००:००