१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीको बरसाइनबासी आइरनयुक्त पानी पिउन बाध्य




अरुणकुमार यादव

राजविराज, ८ कात्तिक ।
सप्तरीको बरसाइनमा खानेपानीको समस्या भएको छ । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिम जिल्लाको अतिविकट ठाउँमा अवस्थित बोदेवरसाइन नगरपालिकाको बरसाइन बजारमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको पाइएको छ ।

सो बजारलगायत आसपास क्षेत्रमा रहेका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध तथा उचित पानी पिउनबाट वञ्चित भएको स्थानीयबासी वीरेन्द्र साहले बताए ।

त्यहाँ रहेका अधिकांश टु्यबेलको पानीमा आइरन भएकाले सो पानीबाट लुगा धुँदा सेतो लुगा पनि रातो र खैरो जस्तो हुने गरेको साहले गुनासो गरे । साथै, आइरन भएको पानीले भाँडावर्तन माझ्दा पनि रातो हुने गरेको बताउँदै दाँत माझ्दा दाँत खराब हुने र नुहाउँदा कपाल फुल्ने जस्ता समस्याबाट स्थानीयवासी पीडित रहेको उनले बताए ।

खानेपानीको उचित व्यवस्था नभएकाले यहाँका करिब ९० प्रतिशत टु्यबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खान समस्या भएको साहको भनाइ रहेको छ ।

जोगिया, बराहा, शारसर, नेङडा, धनगढी, काचन, देउरी, फूलकाही खडकपुर, मानराजा र लागपुर लगायत दर्जनौँ गाउँको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट आफूहरु वञ्चित भएको जोगिया निवासी रोशन यादवले गुनासो गरे ।

सो क्षेत्रमा खानेपानी सम्बन्धि हालसम्म कुनै काम नभएको र सरकार तथा सम्बन्धित निकाय पनि मौन रहेको स्थानीयबासीको गुनासो छ । यता जिल्ला खानेपानी डिभिजन कार्यालयले भने बरसाइनमा देखिएको खानेपानी अभाव र उचित पानी तथा शुद्ध पानीको लागि त्यहाँ छिट्टै काम शुरु हुने बताएको छ ।
रासस

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार ००:००