९ फाल्गुन २०८०, बुधबार | Wed Feb 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरमा ४२ वटा पुल बन्दै




भीमदत्तनगर
, ७ कात्तिक । पछिल्लो समय कञ्चनपुरमा भौतिक पूर्वाधार पुल, सडकलगायतका निर्माणले विगतका वर्षभन्दा तेब्बरले गति लिएको छ ।

गत आर्थिक वर्षमा कञ्चनपुरमा सबैभन्दा बढी पक्की सडक र पुल निर्माणका लागि ठेक्का प्रक्रिया भई काम शुरु भएका छन् । डिभिजन सडक कार्यालय कञ्चनपुरका अनुसार गत आर्थिक बर्षमा मात्रै कञ्चनपुरमा ४२ वटा पुल निर्माणको ठेक्का भएको छ ।

“अघिल्ला वर्षमा यहाँ बढीमा ६ वटा पुल वर्षमा बनेको रेकर्ड छ ।” डिभिजन सडक कार्यालय कञ्चनपुरका इञ्जिनियर खगेन्द्रबहादुर शाहीले भने– “कञ्चनपुरले विभागीय मन्त्री पाएकाले पनि गत वर्ष यहाँ धेरै नदी, खोला नालामा पुलका लागि पैसा परेको हो ।” उनका अनुसार कैलालीमा पनि २१ वटा पुल बन्दैछन् । तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको पालामा उक्त बजेट विनियोजन गरिएको हो ।

कञ्चनपुरको दोधारा चाँदनीस्थित बाबाथान जोड्ने मलेरिया नाला, सोही क्षेत्रको मैनाल नाला, भीमदत्तनगर–ब्रह्मदेव जोड्ने कामीकाटेँ खोला पुल, शुक्लाफाँटा नगरपालिकाको जाडेपानी खोला पुललगायत जिल्लाभर करिब १५ मिटरदेखि १६० मिटर लम्बाइ सम्मका पुल निर्माणको चरणमा छन् ।

अघिल्लो आर्थिक बर्षमा कञ्चनपुरमा ठेक्का भएका ६ वटा पुल निर्माण भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ । “कञ्चनपुरमा ठेक्का सम्झौता भएका पुलमध्ये सातवटा पुलको निर्माण शुरु भइसकेको छ,” इञ्जिनियर शाहीले भने– “अन्य ठेक्का सम्झौता भएका पुलको निर्माण अब तत्काल शुरु हुन्छ ।” पुल निर्माणका लागि डेढ वर्षदेखि तीन वर्षसम्म पुलको लम्बाइ अनुसारको समयावधि दिइएको छ ।

त्यसैगरी, चालु आर्थिक बर्षमा पनि कञ्चनपुरमा नयाँ थप ६ वटा र कैलालीमा पाँच वटा पुल निर्माणको ठेक्का हुने डिभिजन सडक कार्यालयले जनाएको छ ।

“कैलालीमा पनि ठेक्का भएकामध्ये डेढ दर्जन पुल निर्माणाधीन अवस्थामा छन् ।” शाहीले भने । “महाकाली नदीको चार लेनको पुलबाहेक यतिधेरै पुल निर्माण यहाँ पहिलो पटक परेको हो ।” शाहीले भने– “अब सबै सम्झौता भएका पुलको काम तत्काल सुचारु हुन्छ ।”
रासस

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलबार ००:००