१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राविधिक शिक्षा अध्ययनका लागि नगरपालिकाले सहयोग गर्ने



 

असोज ९, रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई सहयोग गर्ने भएको छ । नगरपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रतिविद्यार्थी ३ लाख देखि ४ लाख सम्म आर्थिक सहयोग गर्ने भएको हो ।

नगरपालिकामै आगामी मङ्सिरदेखि शुरु हुने प्राविधिक शिक्षा अन्तर्गत स्टाफ नर्स, स्वास्थ्य सहायक, फार्मेसी र ल्याब असिस्टेन्ट पढ्न चाहने विद्यार्थीलाई आर्थिक सहयोग गरिने नगर प्रमुख विशाल शर्माले बताए ।

उनका अनुसार नगरपालिकाले वर्षमा चारजना विद्यार्थीलाई आर्थिक सहयोग गर्ने नीति लिएको छ । नगरपालिकालाई आवश्यक जनशक्ति उत्पादनका लागि सहयोग गर्न लागिएको जनाइएको छ । ‘‘हामीलाई कुन विषयमा दक्ष जनशक्तिको आवश्यकता छ, सोही विषयमा विद्यार्थीलाई सहयोग गर्छौं’’ नगर प्रमुख विशाल शर्माले भने ।

नगरको लक्षित वर्गको बजेट तथा राजश्वबाट उठेको रकमबाट विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि सहयोग गरिनेछ । आर्थिक अवस्था कमजोर भई आफूले चाहेको विषय पढ्न नपाएका विद्यार्थीका लागि यसबाट ठूलो राहात पुग्ने अपेक्षा गरिएको छ ।
रासस

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलबार ००:००