२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समयमा पुल निर्माण नहुँदा जनतालाई सास्ती



 

साउन १०, भद्रपुर । गौरादह नगरपालिका र कमल गाउँपालिका जोड्ने किस्ने खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनताले सास्ती व्यहोर्नु परिरहेको छ ।

पचास मिटर लामो यो पुल दुई करोड ४७ लाख १२ हजारको लागतमा तीन वर्षमा पूरा गर्ने गरी उदयपुरको रौताहा जेवी कन्ट्रक्सन कम्पनीले विसं २०६८ फागुनमा ठेक्का पाएपनि अहिलेसम्म पुलले पूर्णता पाएको छैन । समयमै पुल निर्माण नहुँदा विद्यालय जाने बालबालिका र हाटबजार जान समस्या भएको स्थानीय केदार खड्काले बताए ।

पुल निर्माण गर्ने जिम्मा लिएको कम्पनीले पिलर गाड्नेबाहेक अन्य केही काम नगरेको र समयमा काम नसकेकाले २७ लाख ९२ हजार क्षतिपूर्ति तिरेको सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले जानकारी दिए ।

उनका अनुसार सो कम्पनीले क्षतिपूर्ति तिरेरै भए पनि आगामी मंसिर मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी पुनःजिम्मा लिएको छ । “नयाँ ठेक्का लगाउन थप खर्च हुनेहुँदा पुरानैलाई अवसर दिएको हो”, प्रमुख यादवले भने , “यदि मंसिर मसान्तसम्ममा पनि निर्माण पूरा गर्न सकेन भने कम्पनीलाई कालोसूचीमा राख्नका लागि सरकारसमक्ष सिफारिश गरिनेछ ।”

योजना ल्याउने तर अनुगमनमा चासो नदेखाउने सम्बन्धित निकायका कारणले पनि ठेक्केदार कम्पनीले लापर्बाही गरेकाले समयमा पुल निर्माण हुन नसकेको पूर्वसांसद दीपक कार्कीले बताए । उनले पुल निर्माण गराउनका लागि आफूले अब निरन्तर खबरदारी गरिरहने समेत बताए ।

बाँसको पुल निर्माण

गौरादह नगरपालिका वडा नं १ र २, कमल गाउँपालिकाको वडा नं १ को सिमानामा रहेको यस स्थानमा अहिले जनस्तरबाट बाँसको पुल निर्माण गरिएको छ ।

पुल निर्माणमा स्थानीय निकायले पनि ध्यान नदिएका कारण यात्रुलाई खोला तर्न सहज बनाउन जनस्तरबाट संकलित ७१ हजारको लागतमा १०० फिट लामो र पाँच फिट चौडाइको सो पुल निर्माण गरिएको स्थानीय दुर्गा गौतमले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १० श्रावण २०७५, बिहिबार ००:००