१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौँडा उपमहानगर क्षेत्रलाई सुन्दर हराभरा बनाउन अभियान शुरु



फागुन २०, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा नगर क्षेत्रलाई थप सुन्दर हराभरा बनाउन अभियान शुरु गरेको छ । नगरको मुख्य बजारको आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने, नाली र सुन्दर पेटी बनाउने, सडकको दायाँबायाँ फूल र फलफूलका बिरुवा रोप्ने अभियान स्थानीय तहमा शुरुआत भएको हो ।

स्थानीय तहको निर्वाचनपछि दुई वर्षको अवधिमा हेटौँडाको कान्ति राजपथसँगै नगरपालिका सडकको दक्षिणतर्फको कार्यालय अगाडिदेखि मकवानपुर क्याम्पससम्मको सडकमा पनि विभिन्न प्रजातिका फूल रोपिएका छन् । आफू निर्वाचित भएर आएपछि हेटौँडा बजार क्षेत्र र आसपास क्षेत्रका ११ वटा मूल सडकमा फूल र फलफूलका बिरुवा रोपिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

पहिले आफू प्रमुख हुँदाको समयमा दुई कार्यकालमा मुख्य सडकमा अशोकका रुख रोपेर हरियाली शहर बनाएको उल्लेख गर्दै उनले अब फूल र फलफूलले ढकमक्क बनाएर थप सुन्दर बनाउने सञ्चारकर्मीसँगको भेटमा बताए ।

उनका अनुसार नगरका विभिन्न स्थानमा सडक फराकिलो बनाउने, नाली र फुटपाथ बनाउने कामसँगै अहिले सडकका वरपर २७ प्रजातिका बिरुवा रोपिएको छ । उनले भने, “म धेरै देश घुमेर हेर्दा त्यहाँको सुन्दरता भनेको फराकिलो सडकसँगै वरिपरि फूलैफूलको सुन्दरता देखेपछि हेटौँडालाई पनि विकसित शहरका रुपमा विकास गर्ने सोच आयो ।”

रोपिएका सबै बिरुवा हुर्काउन, बढाउन र सुन्दर बनाउनका लागि दिनहुँ पानी हाल्ने, गोडमेल गर्ने लगायतका काम गरिँदै आएको छ । बजारको सुन्दरता बढ्दा घरधनीको घर र अगाडिका पसलको पनि सुन्दरता बढ्ने भएकाले आफ्ना घर अगाडि रोपिएका बिरुवा हुर्काउनका लागि नगरवासीको पनि दायित्व भएकाले यसमा लाग्न आग्रह पनि नगर प्रमुख महतले आग्रह गरे । रासस

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार ००:००