३ कात्तिक काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम कठिन भएको बताएका छन् । निर्वाचन आयोगमा शुक्रबार पत्रकारहरूसँग यस बिषयलाई लिएर गम्भीर छलफल गरिरहेको बताए । दलहरूकै सल्लाह र सुझावका आधारमा आयोगले मतपत्र तयार गरेको उनले बताए ।
“समय कम छ, छोटो अवधिमा छाप्न कठिन छ। विषय एक अर्कोसँग जोडिएको छ, त्यसैले मतपत्र छापेर मात्र हुँदैन,” उनले भने, “दुर्इ वटा मतपत्र छाप्नलाई आवश्यक पर्ने कागज र मेसिनको व्यवस्थापन, छपाइपछि गर्नुपर्ने बाइण्डिङ र ढुवानी तथा मतदान केन्द्रको क्षमतालाई पनि ध्यान दिन आवश्यक छ ।”
सर्वोच्च अदालतले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ बाँकी रहेको र प्रतिनिधिसभा तथा प्रदेशसभाको छुट्टाछुट्टै एेन भएको कारणा देखाउँदै दुइखाले मतपत्र छाप्न आदेश दिएको थियो । साथै छाप्न समय भएको र बेग्लाबेग्लै एेन भएको अवस्थामा छुट्टाुछुट्टै मतपत्र छाप्नु पर्ने आशयको आदेश दिएको थियो ।
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको उम्मेदवारी दर्ताका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको उनले बताए । अब मतदातालाई जागरण गर्ने कार्यक्रम सञ्चालन हुन आवश्यक रहेको उनले बताए । रासस
प्रतिक्रिया