७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीयकै श्रम र लगानीमा पाल्पाकाे गाेठादीमा विजुली



 

कात्तिक २, रामपुर पाल्पा । स्थानीयको श्रमदान र लगानीमा पाल्पाको माथागढी गाउँपालिका गोठादीमा विद्युत् सेवा विस्तार भएको छ । वर्षौंसम्म टुकीको भरमा जीवन गुजारा गरेका यहाँका स्थानीयवासीले आफ्नै श्रमदान र लगानीमा अहिले गाउँमा बिजुली बत्ती बाल्न सफल भएका छन् ।

सिंगो गाउँ नै झलमल्ल हुने गरी ३० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना सम्पन्न भएपछि खुशीयाली छाएको छ । यहाँ नेपाल विद्युत् प्राधिकरणले बितरण गरेको विद्युत् पुग्न अझै वर्षौं लाग्नेछ । तर स्थानीयको श्रमदान, लगानी र अथक मेहनतका कारण बत्ति बाल्न सम्भव भएको उपभोक्ता समितिका रनबहादुर खाम्चा बताउँछन् ।

गाउँका करिब ३ सय घरमा चौविसै घण्टा बत्ती बाल्न पाउने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । प्रतिघर झण्डै ३ सय दिन श्रमदान र ३४ हजार रुपैयाँका दरले रकम संकलन गरेका थिए । आयोजना सम्पन्न गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रवाट ५२ लाख रुपैयाँ अनुदान पाएको थियो ।

गाउँमा विजुली भएपछि बत्ति बाल्न मात्रै नभई मोबाइल चार्ज गर्न, रेडियो बजाउन, टिभी हेर्न, विद्यार्थीलाई पढ्न÷पढाउन सजिलो भएको स्थानीय प्रेमबहादुर घर्तीले बताए ।

बिजुलीको सुविधा पुगेपछि गाउँमा अहिले होटललगायतका विभिन्न व्यवसाय चलाउन सजिलो भएको होटल व्यवासायी भक्तबहादुर खाम्चाको भनाइ छ । कुटानीपिसानी गर्न, खाना पकाउन सजिलो भएको इन्दिरा खाम्चा बताउँछिन् । “पहिला रातभरि ढिकी जाँतो गरेर गुजारा चलाउनु पथ्र्यो । अहिले गाउँमा बिजुली आएपछि यो समस्या सदाका लागि हटेको छ” उनले भनिन् ।

यस आयोजनाबाट उद्योग सञ्चालन गर्न सहजीकरण गर्ने र बाँकी खपत हुन नसकेको विद्युत् नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्न समन्वय गरिने माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए ।
रासस

 

प्रकाशित मिति : २ कार्तिक २०७४, बिहिबार ००:००