विराटनगर, ३१ असोज । अतिविपन्न परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत मोरङमा सातसय घरको निर्माण कार्य सम्पन्न भएको छ ।
नेपाल सरकारद्वारा गत आर्थिक वर्षमा आठसय घर निर्माण गर्नुपर्नेमा सात सयको निर्माणकार्य सम्पन्न भएको र एकसय घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय, विराटनगरले जनाएको छ ।
प्रत्येक घर निर्माणका लागि दुई लाख १४ हजार खर्च गरिएको सो कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी गराए । खासगरी विपन्न दलित र मुसलमानलाई जनता आवास कार्यक्रममा छनोट गरिएको छ । परिवारको सदस्य, जग्गाको अवस्था, व्यक्तिगत जग्गा, ऐलानी जग्गा लगायत विभिन्न प्रकारका निर्धारण गरिएका मापदण्ड अन्तर्गत परिवार छनोट गरिएको उनले बताए ।
बुधनगर, विराटनगर, जहदा, मझारे, भौंराहा, कटहरि, डाइनिया, आमगाछी, बाहुनी, अमरदह, कोशीहरैँचा, टाँडी लगायतका गाउँका अतिविपन्न परिवारका लागि भवन निर्माण गरिएको बताइएको छ ।
सोहीअनुरुप सुनसरी जिल्लामा पनि आठसय घर निर्माण कार्य सम्पन्न भइसकेको कार्यालय प्रमुख सिंहले जानकारी गराए ।
रासस
प्रतिक्रिया