६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किर्ते हस्ताक्षर गरि रकम झिकिएको उजुरी प्रति अख्तियारको छानबिन सुरू




सप्तरी
, २९ असोज । सप्तरीको प्रसवनी ४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट गैरकानूनीरूपमा रकम झिकेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ ।

सप्तरीको कुष्णसवरण गाउँपालिका ४ स्थित कलिया खोलामा पुल निर्माणका लागि गठित कलिया खोला पुल उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोषाध्यक्ष उमदादेवी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको विषयमा छानबिन गर्न माग गरिएको हो ।

सो समितिका सचिव देवनारायण यादवले समितिका अध्यक्ष वैद्यनाथ र कोषाध्यक्ष उमदादेवीले चेकमा आफ्नो किर्ते हस्ताक्षर गरी रकम झिकेको आरोपसहित अख्तियारमा लिखित उजुरी दिएको बताए । पुल निर्माणका लागि समितिका अध्यक्ष, कोषाध्यक्ष तथा सचिवको संयुक्त खाता रहेको बताइएको छ ।

पुल निर्माणमा अनियमितता र गुणस्तरहीन सामान प्रयोग गरेको र पुल निर्माणको बिल धेरै बनाएकाले सचिवले चेकमा हस्ताक्षर गर्न नमानेपछि अध्यक्ष तथा कोषाध्यक्षले किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट छ लाख ५५ हजार ४३१ झिकेको सचिव देवनारायणको आरोप छ ।

सो सम्बन्धमा कारबाहीका लागि इटहरीस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला समन्वय समिति सप्तरीमा छानबिन गर्नका लागि माग गरिएको हो ।

करिब १३ लाखको लागतमा निर्माण भएको सो पुल निर्माण भएको एक महिना नपुग्दै भत्किन थालेको स्थानीय बासिन्दाको भनाइ छ । १३ लाखको लागतमा निर्माण भएको उपभोक्ता समितिको दाबी भए पनि सो पुल निर्माणमा पाँच लाख पनि खर्च नभएको सचिव यादवको दाबी छ ।

जिल्ला समन्वय समिति सप्तरीका स्थानीय विकास अधिकारी सुदेव पोखरेलको निर्देशनमा सो पुल निर्माण भएको थियो । यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी, पूर्वाञ्चलका प्रमुख कालीप्रसाद पराजुलीले सो उजुरीका आधारमा छानबिन शुरु गरिएको बताए ।
रासस

प्रकाशित मिति : २९ आश्विन २०७४, आइतबार ००:००