२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनका बारेमा अब आशंका नगर्नुस्ः प्रमुख आयुक्त डा यादव




धुलिखेल
, काभ्रे, २५ असोज । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसंग आग्रह गरेका छन् ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थापन तालीम समापन समारोहमा उनले निर्वाचन हुनुपर्छ भन्ने सन्दर्भमा कतैबाट पनि विचलनको अवस्था नदेखिएकाले निर्वाचनका बारेमा आशंका नगर्न सबैसंग अनुरोध गरे ।

स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पूर्ण पालना गर्न गराउन राजनीतिक दल र सरकारलाई सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि निर्वाचन आयोगले कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गरे ।

निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र प्रहरी प्रशासनलाई सहयोग र समन्वय गरेर काम गर्न सुझाव दिँदै उनले निर्वाचनका विषयमा भरसक आयोगबाट आदेश दिन नपर्नेगरी जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

आयुक्त सुधीरकुमार शाहले विगतका निर्वाचनको जस्तो कमीकमजोरी र त्रुटि दोहोरिन नदिन समन्वय र सहयोगी भावनाले मिलेर काम गर्न निर्देशन दिए ।

मुख्य निर्वाचन अधिकृतकोतर्फबाट जिल्ला न्यायाधीश हेमन्त रावलले नेपालको संविधान र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको निर्वाचनमा कसैसंग सम्झौता, दबाब र प्रभावमा नपरी इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन अधिकृत हरिशंकर ज्ञावलीले निर्वाचनको महायज्ञको जिम्मेवारीलाई हरतरहले सफल तुल्याउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे ।

प्रशिक्षणमा उनीहरुलाई निर्वाचनमा आउनसक्ने समस्या र समाधानको उपायका बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा निर्वाचनमा खटिने ७७ जिल्लाका जिल्ला न्यायाधीश, जगेडामा राखिएका नौ जना न्यायाधीश र न्याय सेवाका उपसचिवको सहभागिता थियो ।
रासस

प्रकाशित मिति : २५ आश्विन २०७४, बुधबार ००:००