४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनलाई पवित्र तुल्याउन कुनै कसर बाँकी राख्दैनौँ– आयुक्त शर्मा




काठमाडौँ
, २२ असोज । निर्वाचन आयुक्त इला शर्माले आगामी मंसिरमा हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पवित्र तुल्याउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मुख्य प्रशिक्षण प्रशिक्षक तालीमको शुभारम्भ गर्दै उनले आचारसंहिताको पूर्णपालना गर्न गराउन राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन् ।

आयुक्त नरेन्द्र दाहालले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको निर्वाचनको व्यवस्थापन सरल तुल्याउने र मतदाताको सहभागिता बढाउने दिशामा सबैको सहयोगी भूमिका हुनुपर्ने बताए ।

प्रशासकिय अदातलका अध्यक्ष एवं संविधानविद काशीराज दाहालले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन निर्वाचन आयोगलाई आचारसंहिता उलंघन गर्ने पक्षलाई कानून अनुरुप कारबाही गर्न सुझाव दिए ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव कमलशाली घिमिरेले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन बनेका ऐन र कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

आयोगका सहसचिव नवराज ढकालले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको क्रममा मतदाता नामावलीलाई अन्तिमरुप प्रदान गरिएको, मतपत्र छपाईको काम शुरु भएको र विभिन्न नौ प्रकारका तालीम प्रशिक्षण चलिरहेको जानकारी दिए ।

नेपालस्थित संयुक्त राष्ट्रसघीय विकास कार्यक्रम युएनडीपीका प्रमुख रिनाउड मेयरले सयुक्त राष्ट्रसंघले नेपालको निर्वाचनको लागि प्राविधिक सहयोग गर्दै आएको जानकारी दिए ।

उक्त प्रशिक्षणमा नेपाल सरकारका सचिव एवं सहसचिव मुख्य प्रशिक्षकको रुपमा सहभागिता रहेको छ । उनीहरुले निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा आउनसक्ने चुनौती र समस्या समाधानका उपायका बारेमा प्रदेश तहमा गएर प्रशिक्षण दिने छन् ।
रासस

प्रकाशित मिति : २२ आश्विन २०७४, आइतबार ००:००