११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वी रुकुममा ३ वटा जिल्ला कार्यालय स्थापना



१९ असोज, काठमाडौँ । मुलुककै कान्छो जिल्ला पूर्वी रुकुममा आज जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र नेपाल प्रहरीको जिल्ला कार्यालय स्थापना भएका छन् । गृहमन्त्री जनार्दन शर्मा, गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ, गृहसचिव लोकदर्शन रेग्मी, सामान्य प्रशासन सचिव मोहनकृष्ण सापकोटा, सांसदद्वय गणेशमान पुन र दलजीत श्रीपाइलीले रुकुमकोटमा ती कार्यालयहरूको उद्घाटन गरेका छन् ।

गृहमन्त्री शर्माले लामो समयदेखि पूर्वी रुकुमका जनताले माग गर्दै आएको फरक जिल्ला स्थापना गर्ने कार्यमा सफलता मिलेको बताए । साथै सरकारबाट प्राप्त हुने सबै सेवा प्रदान गर्न जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई निर्देशन दिए । उनले स्रोत र साधनको परिचालन गरेर नमूना जिल्ला बनाउन सकिने बताए ।

एकीकृत रुकुम जिल्लाको सदरमुकाम रहेको रुकुमकोटबाट ४२ वर्ष पहिले जिल्ला सदरमुकाम मुसीकोट सारिएको थियो । त्यसपछि स्थानीयवासीले असन्तुष्टि राख्दै आएका थिए । नेपालको संविधानको घोषणासँगै पूर्वी रुकुमलाई छुट्टै जिल्लाको मान्यता दिइएको हो । विगतमा जिल्ला छुट्याउँदा विरोध गर्नेहरुले अहिले फरक जिल्ला बनाउनुको महत्व थाह पाएको शर्माले स्पष्ट पारे ।

गृहसचिव रेग्मीले सिस्ने गाउँपालिकाको केन्द्रमा रहेको रुकुमकोटमा प्रमुख तीन कार्यालयको स्थापनासँगै अरु सरकारी कार्यालय पनि स्थापना गर्दै जाने जानकारी दिए । रासस

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहिबार ००:००