८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली सनाद्वारा निर्माण गरिएका चार बेलिब्रीज उद्घाटन




बागलुङ
, ११ असोज । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ र गुल्मी खण्डमा नेपाली सेनाले निर्माण गरेका चार बेलिब्रीज मंगलबार उद्घाटन गरिएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बागलुङमा पर्ने तीन र गुल्मीको एउटा बेलिब्रीजको उद्घाटन गरेका हुन् । बागलुङको जैमिनी नगरपालिका १ स्थित ठेउलेखाला, वडा नं ७ को जैदीस्थित चौंरीखोला, वडा नं ८ छिस्तीको पालुङखोला र गुल्मीको कालीगण्डकी गाउँपालिका ५ स्थित गौदीखोलाको बेलिब्रीजको शुरु गरिएको हो ।

बेलिब्रीज उद्घाटन भएसंगै बागलुङमा सवारी चल्न बाँकी रहेको २३ किमीको टाकुरी–पालुङखोला खण्डमा सार्वजनिक यातायात चल्न थालेका छन् । यातायात शुभारम्भका क्रममा नेपाली सेनाको विकास निर्माण निर्देशनालयका महानिर्देशक योगेन्द्रबहादुर खाँड, निर्देशक उद्धव विष्ट, कार्यालय प्रमुख, जनप्रतिनिधि, राजनीतिक दललगायत सर्वसाधारण उपस्थित थिए । सदरमुकामदेखि हिँडेका बस र जिपले पुल तरेर अगाडिको यात्रा तय गर्दा यात्रु र प्रत्यक्षदर्शीले खुशीयाली मनाएका थिए ।

सो अवसरमा प्रधानसेनापति क्षेत्रीले जनताको सहयोगमा मात्र सेनाले काम गर्नसक्ने बताउँदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिइने बताए । व्यवस्थापिका–संसद्, विकास समितिका सदस्य प्रकाश शर्मा पौडेलले यस वर्ष बागलुङ खण्डका लागि थप २५ करोड र गुल्मीका लागि ३५ करोड बजेट छुट्याउन समितिले पहल गरिरहेको जानकारी दिए ।

करिडोर निर्माण कार्यदलका प्रमुख इञ्जिनियर रेश्मीराज भट्टराईले जैमिनी नगरपालिका ७ को लौहाखोलामा थप एक बेजिब्रीज बन्न बाँकी रहेको र सेनाको जिम्मामा रहेको गुल्मीको रिडीदेखि बागलुङको मालढुंगासम्मको ८५ किमी मार्ग खोल्दा एक अर्ब तीन करोड खर्च भएको जानकारी दिँदै पुल निर्माण, मर्मतसुधार र स्तरोन्नतिको लागि थप एक अर्ब चाहिने बताए । सडक विभागले काममा ढिलाइ गरेपछि सरकारले चार वर्षअघि करिडोरको मार्ग खोल्ने जिम्मा सेनालाई दिएको थियो ।

नेपाललाई भारत र चीनसंग जोड्ने ३४५ किमीको सो करिडोरको मार्ग खोल्ने काम गत असारमै पूरा भए पनि वर्षायाममा यातायात चलेको थिएन । पुलको निर्माण र वर्षा घटेसंगै अहिले छोटो दूरीमा सवारीसाधन चलिरहेका छन् । यात्रुको माग र सडकको अवस्था हेरेर लामो दूरीका सवारी चलाउने योजना रहेको धौलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष उमेश केसीले बताए ।

व्यापार र पारवहनका दृष्टिले महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ ।
रासस

प्रकाशित मिति : ११ आश्विन २०७४, बुधबार ००:००