१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा रोकिएन आचारसंहिता उल्लंघन




गौशाला
, २९ भदौ । प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन ।

प्रचारप्रसार शुरु भएदेखि नै आचारसंहिता उल्लंघनमा उत्रेका यहाँका ठूला राष्ट्रिय पार्टीहरु, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपादेखि लिएर मधेशवादी दलहरु राजपा, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम सबैले अहिले आचारसंहिता उल्लंघनलाई चरम बिन्दुमा पुर्याएको देखिएको छ ।

दस नगरपालिका र ५ गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा ७२० पदका लागि चारहजार ४१० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रत्येक उम्मेदवारद्वारा आचारसंहिताको व्यापक उल्लंघन भइरहेको देखिएको छ ।

आआफ्ना राजनीतिक एजेण्डासहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा यहाँका नेता र पार्टीहरु आचारसंहिताको विपरीत भोट माग्ने र मतदातालाई आआफ्ना पक्षमा पार्ने काममा लागेको देखिएको छ । यहाँका राजनीतिक दलहरुले सार्वजनिक स्थलमा पोस्टर, पम्फलेट, सभा सम्मेलनदेखि लिएर ठूलठूलो आवाजमा २४ घण्टा लाउडस्पिकर बजाएर प्रचारप्रसार गरेको पाइएको छ ।

जिल्लाका प्रत्येक गाउँ ठाउँको बिजुलीको पोल, टेलिकमको पोल र रुख बिरुवामा अहिले विभिन्न पार्टीका झण्डा टाँगिएको देख्न सकिन्छ । त्यस्तै, ठूलठूला आकारका पोस्टर पनि टाँगिएको देख्न सकिन्छ ।

यहाँका उम्मेदवारले आचारसंहिता विपरीत दर्जनभन्दा बढी गाडी, सयौँ मोटरसाइकल र ठूलठूला ब्यानर लिएर प्रचारप्रसारमा उत्रेका छन् । त्यस्तै, यहाँका प्रत्येक पार्टीले आफ्नो पार्टीको छाप अंकित भेस्ट, टोपी लगाएर सयौँ कार्यकर्तालाई सडकमा उतारेका छन् । साथै बालबालिका पनि प्रयोग गरिएको देखिएको छ ।

यसका अलावा उम्मेदवारले मतदातालाई रिझाउन झुठो बाचा, विभिन्न प्रलोभन र पैसा बाड्ने काम पनि गर्ने गरेको सर्वसाधारण मतदाता बताउँछन् । यसैबीच, एक दुईदिन निर्वाचन आयोगले सुरक्षाकर्मी र प्रशासन लगाएर यहाँका उम्मेदवारले झुन्ड्याएको पोस्टर, पम्फलेट र झण्डा हटाए पनि अहिले आयोग पनि उदासीन रहेको देखिएको छ ।
रासस

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहिबार ००:००