५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्छः अध्यक्ष प्रचण्ड




चितवन
, २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निकायको गुरुयोजना निर्माण गरी वृहत सोचका साथ काम गर्नुपर्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाले आयोजना गरेको एकीकृत शहरी विकास कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले राजधानी काठमाडौँमा झैँ संरचना बनाउने र भत्काउने नगरी एकसय वर्षभन्दा पछिसम्मको सोच राखेर गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्ने बताए ।

संघीयता र संघको निर्वाचनसंगै संविधान पूर्णरुपमा कार्यान्वयन हुने भन्दै उनले अवको समय आर्थिक समृद्धिको भएको बताए । दीर्घकालीन रणनीतिका साथ अघि बढ्न नसके राष्ट्रनिर्माण गर्न नसकिने भन्दै उनले राजनीतिक प्रतिशोधलाई थाँती राखेर विकास निर्माणमा अघि बढ्नुपर्ने बताए । उनले भने, “राजनीतिक आँखा अब विकासमा केन्द्रित हुनुपर्दछ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकालाई बहुआयामिक नगरको रुपमा विकास गर्नुपर्ने भन्दै उनले तथ्यांक गत रुपमा गुरुयोजना निर्माण गर्न सुझाव दिए । विश्वका महत्वपूर्ण देशका प्रमुख महानगरसंग भगिनी सम्बन्धको विकास गरी महानगरलाई एकीकृत विकास गर्नुपर्ने पनि उनको जोड थियो ।

भरतपुर महानगरपालिकालाई चितवन महानगरको रुपमा विकास गर्नुपर्ने भन्दै उनले भरतपुर महानगरमा क्षेत्रीय विमानस्थल, शिक्षा र स्वास्थ्यको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए । साथै उनले महानगरबाट नवलपरासी जोड्ने पुल निर्माण गर्ने र राप्ती एवं नारायणी दुई नदीको किनारै किनार चक्रपथ बनाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा सहरी विकास मन्त्री प्रभू शाहले भरतपुर महानगरलाई नमुना सहर बनाउनका लागि मन्त्रालयले काम सुरु गरेको बताए । उनले भने, “स्मार्ट सिटी बनाउन डिपिआरका लागि ठेक्का भइसकेको छ ।”

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले भरतपुर महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न अध्ययनका लागि बजेटसमेत निकासा भइसकेको बताए । कार्यक्रममा चितवन क्षेत्र नं– ३ का सांसद कृष्णभक्त पोख्रेल, सांसद सन्तु दराईलगायतले भरतपुर महानगरको विकास गुरुयोजना निर्माण गरी काम गर्नुपर्ने बताए ।

हालै मात्र भरतपुर महानगरमा माओवादी केन्द्रका अध्यक्ष दाहाल पुत्री रेणु दाहाल प्रमुख पदमा विजयी भएकी छन् । महानगर नै भएको चितवनबाट आउँदो संघको चुनावमा उम्मेदवार बन्ने घोषणा समेत प्रचण्डले गरिसकेका छन् ।
रासस

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार ००:००