९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी




काठमाडौँ,
२२ भदौ । स्थानीय तहको तेस्रो चरणको आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि हालसम्म २८ हजार २९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसी बाट बिहिबार दिउँसो १२ः३० बजेसम्म प्राप्त विवरणअनुसार प्रमुख/अध्यक्ष पदमा एक हजार ५१०, उपप्रमुख/उपाध्यक्ष पदमा ९७५, वडाध्यक्ष पदमा छ हजार २८० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

खुल्ला सदस्य दुई पदमा १० हजार ५१९, महिला सदस्यमा चार हजार ७४८ र महिला दलित सदस्यमा चार हजार २६६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरण आउने क्रम जारी नै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो ।

उम्मेदवारी दर्ताका लागि महिला, दलितलगायतका उम्मेदवारले उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराए । यो निर्वाचन एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ । तेस्रो चरणको निर्वाचनबाट छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।
रासस

प्रकाशित मिति : २२ भाद्र २०७४, बिहिबार ००:००