१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीप्रभावित मुसहरलाई भिक्षुले गरे सहयोग




काठमाडौँ,
२२ भदौ । बौद्ध दर्शनको विकासमा सक्रिय रहेका भिक्षुले भिक्षा मागेर बाढीबाट प्रभावित मुसहर परिवारलाई सहयोग उपलब्ध गराएका छन् ।

चाबहिलस्थित चारुमती बुद्ध विहारका भिक्षुले त्यस आसपास क्षेत्रमा भिक्षाटन गरी संकलन गरेको स्रोतबाट इटहरीको टेङ्ग्रा खोला वरपर क्षेत्रका ३०० घर परिवारलाई सहयोग गरेको बुधबार जानकारी गराइएको छ ।

चारुमती बुद्धिष्ट मिसनको सहयोगमा भिक्षु तपस्सी धम्मको नेतृत्वमा त्यहाँका भिक्षुले सहयोगका लागि केही साता अगाडि भिक्षा मागेका थिए । उनीहरुले करिब पाँच लाख संकलन गरी चामल, तेललगायत खाद्य सामग्रीका साथै लत्ताकपडा पीडितलाई स्थानीय प्रशासनसंग समन्वय गरी उपलब्ध गराएको विहारले जनाएको छ ।

विहारका प्रमुख भिक्षु तपस्सी धम्मले विभिन्न समाचार माध्यममा बाढीबाट त्यस क्षेत्रका मुसहर प्रभावित भई केही दिनदेखि दुःख पाएको खबर आएपछि आफ्नो संस्थाले उनीहरुलाई मानवीय सहयोग जुटाएको जानकारी दिए ।

बौद्ध धर्मको प्रवर्द्धनमा लागिरहेका भिक्षुले सामाजिक सेवा तथा मानव कल्याणका लागि काम गर्न बौद्ध साहित्य तथा दर्शनको सन्देश समेत रहेको उनको भनाइ थियो ।

मुलुकमा सामाजिक रुपान्तरणका लागि दिगो शान्ति तथा सद्भाव कायम गर्न विभिन्न समयमा आध्यात्मिक कार्यक्रम गर्दै आएको सो विहारले अन्तरराष्ट्रिय दातृ संघ संस्थासंग सहयोग मागेर देशका विभिन्न स्थानमा गई भूकम्प प्रभावितलाई समेत सहयोग जुटाएको थियो ।
रासस

प्रकाशित मिति : २२ भाद्र २०७४, बिहिबार ००:००