५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषाका बाढीपीडितलाई विभिन्न संघसंस्थाद्वारा राहत वितरण




महेन्द्रनगर
— धनुषा, ४ भदौ । यहाँका विभिन्न बाढी प्रभावित क्षेत्रका पीडितलाई राहत वितरणको कार्य जारी रहेको छ । धनुषाको घोडघास र बहेडाबेलामा शनिबार बाढीपीडितलाई राहत वितरण गरिएको छ । गरिब असहाय मन्चका संयोजक वैद्यनाथ साहले विश्वकर्मा सिमेन्टको सहयोगमा घोडघासमा १७ घरपरिवार र बहेडाबेलामा ६० घरपरिवारलाई राहत वितरण गरे ।

बाढी प्रभावितको घरघरमा पुगेर चामल, दाल, आलु, तेल, प्याज, तेल, साबुन, मछरदानी ९झुल०, चटाई, भाँडावर्तन, औषधिसहितको २१ प्रकारका अति आवश्यक सामग्री प्रदान गरिएको हो ।

राहत वितरण कार्यक्रममा समाजसेवी वैद्यनाथ साह, कैलाश जैन, पत्रकार दीपेन्द्र सिंह, वन सहायक अधिकृत सुरेश शर्मा, सामाजसेवी अनुज रुगटा, आकाश जैन, अजय जैन, विश्वकर्मा सिमेन्ट प्रालि वीरगन्जका प्रतिनिधि दीपेन्द्र जैसवाल, राजेश थापा, राजेश पटेल, सञ्जय साहलगायत स्थानीय बासिन्दा, प्रहरी, बुद्धिजीविको सहभागिता रहेको थियो । बाढीले जीवनयापनमा समस्या भए तापनि अहिलेसम्म घोडघास र बहेडाबेलामा राहत पुग्न सकेको थिएन ।

त्यसैगरी नेपालको सबैभन्दा गहिरो भू–भाग धनुषा जिल्लाको दक्षिणवर्ती क्षेत्र मुसहरनीया गाउँमा तराई मानवअधिकार रक्षक सञ्जालले दलित तथा विपन्न परिवारमा राहत वितरण गरेको छ । बिहीबार मुखियापट्टी मुसहरनीया गाउँपालिकामा प्रहरी, सामाजिक अभियन्ता र स्थानीयवासीको सहयोगमा दर्जनौँ घरधुरीलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको हो ।

थर्ड एलायन्सको मानवअधिकार अधिकृत किरणकुमार कर्णको अगुवाइमा भएको राहत वितरणमा प्रसूति महिला कौशिल्या देवी परिवारलाई विशेष प्याकेजसहित ९० जना घरपरिवारका प्रतिनिधिलाई चिउरा, दालमोठ, चामल, सोयाविन, पानी, त्रिपाल, छाता, आलु लगायतका खाद्यान्न वस्तु वितरण गरिएको हो ।

अति विपन्न तथा दलित बस्ती यस गाउँमा बाक्लो छ । अति नै पिछडिएको गाउँका रुपमा रहेको मुसहरनीया गाउँमा जस्तोसुकै आपत्विपत् आए पनि हालसम्म कुनै किसिमको राहतको परिकल्पना नगरेको अवस्थामा थर्ड एलायन्सले खाद्यान्न सामग्रीसहित राहत वितरणका लागि पुगेपछि बाढीपीडित खुशी भएका थिए ।

करिब एक साताअघि परेको अविरल वर्षाका कारण मुखियापट्टी मुसहरनीया गाउँमा दर्जनौँ घर भत्केर स्थानीयवासी घरबारविहीन भएका छन् भने अधिकांश गाउँवासीको खाद्यान्न सामग्री, लत्ताकपडा, धानबाली र चौपायाको व्यापक क्षति भएको थियो ।
रासस

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार ००:००