१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन, नगद सहयोग वितरण




नेपालगञ्ज
, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गरेका छन् ।

जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई छ लाखको चेक हस्तान्तरण गरे । सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई दुई लाख दिने निर्णय गरेको छ ।

गत साउन २८ गते राति राप्ती नदीमा आएको बाढीका कारण सो गाउँपालिका–४ लालपुरका एकै परिवारका १२ वर्षीया अञ्जु थारु, नौ वर्षीया सरिता थारु र सात वर्षीया सुस्मिता थारु दिदीबहिनीको मृत्यु भएको थियो ।

सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल प्रदान गरेका थिए । त्यस अवसरमा उनले बाढीपीडितलाई सम्बोधन गर्दै यस क्षेत्रमा पुनः बाढी आउन नदिने उपायको खोजी सरकारले गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री देउवाले मुलुकका बाढीपीडितको उचित बसोबास, जीविकोपार्जनका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिने बताउँदै दैवी विपत्तिका बेला सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्नेमा जोड दिए ।

यसअघि नेपालगञ्ज राझास्थित नेपाली सेनाको चार नं बाहिनी अड्डामा प्रधानमन्त्री देउवालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागार्इं र नेपाली सेनाका पृतनापति कर्मेन्द्र लिम्बूले बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

यसैगरी, प्रधानमन्त्री देउवाले बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई र स्थलगत अवलोकन पनि गरे । बाँके जिल्लाको कार्यक्रम सकेर उनी बर्दिया र कैलाली जिल्ला तर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवाले बर्दियाको भादापुलस्थित गोलपार्क र कैलाली जिल्लाको टीकापुर भजनीमा त्यस क्षेत्रका बाढीपीडितसंग भेटघाट गर्ने र राहत उपलब्ध गराउने कार्यक्रम रहेको बाँकेका प्रजिअ रमेशकुमार केसीले जानकारी गराएका छन् ।
रासस

प्रकाशित मिति : १ भाद्र २०७४, बिहिबार ००:००