८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका ७ स्थानीय तह एम्बुलेन्सविहीन



पुस ३, बैतडी । जिल्लाका सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । जिल्लाका सबै स्थानीय तहमा अझै पनि सडक सञ्जाल पुग्न सकेको छैन । सडक सुविधा नहुँदा यहाँका स्थानीय तहले एम्बुलेन्स खरिद नगरिएको हो ।

पञ्चेश्वर, शिवनाथ, दोगडाकेदार, डिलाशैनी, सिगास, सुर्नया गाउँपालिका र मेलौली नगरपालिका एम्बुलेन्सविहीन छन् । मेलौली नगरपालिकाले एम्बुलेन्स खरीद गरिसकेको र केही दिनमै नगरपालिकामा पुग्ने नगरप्रमुख कृष्णसिंह नायकले बताए ।

सुर्नया गाउँपालिकाले एम्बुलेन्स खरीद गर्नको लागि भरखर बोलपत्र आह्वान गरेको छ । निकट भविष्यमै एम्बुलेन्स आउने गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए । दोगडाकेदार गाउँपालिकाले चालू आर्थिक वर्षमा एम्बुलेन्स किन्ने निर्णय गरेको भए पनि आफैँले नकिन्ने र प्रदेश सरकारसँग अनुरोध गरेको गाँउपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

यस्तै, शिवनाथ गाउँपालिकाले पनि प्रदेश सरकारलाई अनुरोध गरेको छ । पञ्चेश्वर गाउँपालिकाले एम्बुलेन्स किन्ने तयारी गरेको प्रवक्ता दशरथ मङ्गोलाले जानकारी दिए । सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाको केन्द्र र अन्य केही वडामा सडक सुविधा नपुगेकाले सडक पुगेपछि मात्रै एम्बुलेन्स खरीद गरिने जनाएका छन् । सिगास गाउँपालिकाले सडकलाई प्राथमिकतामा राखेकाले सडक पुगेपछि मात्रै एम्बुलेन्स किन्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।

स्थानीय सरकारले एम्बुलेन्स सेवा दिन नसक्दा कुनै जटिल बिरामी हुँदा तथा दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । एम्बुलेन्स सुविधा नहुँदा यहाँका नागरिकले बिरामीलाई अझै पनि बोकेर स्वास्थ्यसंस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता छ ।

विशेषज्ञ चिकित्सकको सेवा लिन तथा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम तथा रेफर गर्नुपरेमा एम्बुलेन्सको अभावले झन मारमा परेका छन् । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा भने एम्बुलेन्स सेवा सञ्चालनमा छ ।

दशरथचन्द नगरपालिकामा रहेको जिल्ला स्वास्थ्य कार्यालय र वडा नं २ मा रहेको देहीमाडौँ स्वास्थ्य चौकीमा एम्बुलेन्स सञ्चालनमा रहेको प्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिए । पाटनमा रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि एम्बुलेन्स सेवा छ ।

पुर्चाैडी नगरपालिकाले केही दिन अघिदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए । रासस

प्रकाशित मिति : ३ पुस २०७५, मंगलबार ००:००