१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक बिदामा पनि मतदाता बन्न स्थानीय तहमा भीड




बनेपा
, ३० साउन । काभ्रेपलाञ्चोकका स्थानीय तहमा सार्वजनिक बिदाका दिन पनि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन स्थानीयवासीको भीड लागेको छ ।

आज श्रीकृष्ण जन्माष्टमीको दिन फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउन बिहान ६ बजेदेखि नै बनेपा नगरपालिकामा भीड देखिएको छ ।

सरकारले भदौ १ गतेदेखि नै फोटो सहितको मतदाता नामावली संकलन कार्य स्थगित गर्ने भएपछि सार्वजनिक बिदाको दिन पनि फोटो सहितको मतदाता नामावली संकलनका लागि भीड लागेको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ ।

बनेपा नगरपालिका १० सिनागाल मार्गका नितेश कट्टेलले पटक पटक लाइनमा बस्दा पनि पालो नआएकाले बिहानैदेखि लाइनमा बसेको बताउदै वैदेशिक रोजगारमा भएकाले मतदाता नामावलीमा नाम नभएकाले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएको गुनासो गरे । जहिले पनि फर्म भर्दै फर्कंदै गरेकाले पालो आएन, अब आज पालो आउन सक्छ लाममा बसेका उनले भने ।

काभ्रेपलाञ्चोकका निर्वाचन अधिकारी मधुकर पोखरेलले जिल्लाको बनेपा, पाँचखाल, पनौती, मण्डनदेउपुर लगायतका सबै नगरपालिका र केही गाउँपालिकमा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउन सार्वजनिक बिदाको दिन पनि भीड लागेको बताए ।

गएको साउन १ गतेदेखि २९ गतेसम्म जिल्लामा कुल २३ हजार ३१८ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

नाम दर्ता गराएकामध्ये १० हजार ९०९ महिला र १२ हजार ४०९ पुरुष रहेका छन । यसअघि जिल्लामा कुल दुई लाख ३० हजार ८४९ मतदाता रहेका थिए । निर्वाचन आयोगले साउन १ गतेदेखि नाम छुटेका, नागरिकता बनाएका तर नामावलीमा नाम दर्ता नगरेका, बाहिर जिल्लामा भएकालाई लक्षित गरी फोटो सहितको मतदाता नामावली संकलनका कार्य शुरु गरेको थियो ।
रासस

प्रकाशित मिति : ३० श्रावण २०७४, सोमबार ००:००