१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिंहदरबारको अधिकार सिंहदरबारभित्र नै घुमिरहने चिन्ता




काठमाडौँ
, २७ साउन । संविधानको प्रावधानलाई खुम्च्याएर सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठनसम्बन्धी विधेयक, २०७४ ल्याएको भन्दै विधेयकलाई परिमार्जन गर्न सांसदहरुले संशोधन प्रस्ताव राखेका छन् ।

संविधानको धारा २५० मा सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त परिचालन गर्न आयोग गठनसम्बन्धी प्रावधान रहेको छ । संविधानकै धारा २५१ मा आयोगका काम, कर्तव्य र अधिकारका विषय उल्लेख गरिएको छ । संविधान कार्यान्वयन गर्न सो आयोग गठनलाई अति महत्वपूर्णरुपमा हेरिएको छ ।

व्यवस्थापिका–संसद्, अर्थ समितिको शुक्रबारको बैठकमा उनीहरुले सरकारले विधेयकलाई हतारो र झारा टार्न ल्याएको भन्दै आफूहरुद्वारा विधेयकमाथि राखिएको संशोधन प्रस्तावलाई समावेश गराउन सुझावसमेत दिए ।

विधेयकको मस्यौदामा प्राकृतिक स्रोत परिचालन गर्दा लिइने आधार, राजश्वको बाँडफाँड गर्दा लिइने आधार, अनुदान सिफारिस गर्दा लिइने आधारजस्ता मुख्य बुँदा रहेका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा आयोगका अध्यक्ष नियुक्ति हुने प्रावधान रहेको छ ।

विधेयकमा प्राकृतिक स्रोतबाट उठेका राजश्व बाँडफाँड गर्दा सङ्घ, प्रदेश र स्थानीय तहमा क्रमशः ८५, १० र ५ बाडफाँड हुने प्रस्ताव आएपछि यसलाई विधायिकाले कडा आपत्ति जनाउँदै यसले सिंहदरबारको अधिकार स्थानीय तहमा नगई सिंहदरबारभित्र नै घुमिरहने चिन्ता व्यक्त गरे ।

सो विधेयकमाथि स्वयं सो समितिका सभापति प्रकाश ज्वालाले समेत संशोधन राखेका छन् । अघिल्लो सरकारको समयमा सो विधेयक संसद् सचिवालयमा पेश भएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथि समितिमा छलफल शुरु भएको छ ।

समितिका सदस्यहरु शक्ति बस्नेत, रामनारायण बिँडारी, श्यामकुमार श्रेष्ठ, जनकराज जोशी, हितराज पाण्डेले संघीयताको मूल मर्मविपरीत विधेयक आएको भन्दै यसले संविधान प्रदत्त क्षेत्रलाई नै खुम्च्याएको बताए ।

उनीहरुले आयोगलाई अर्थ मन्त्रालयको मातहतमा नराखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्न संशोधन राख्दै अन्तरसरकारी वित्त आयोग गठनसम्बन्धी विधेयकसित समन्वय गरी विधेयक आउनुपर्ने बताए ।

यसैगरी केशव बडाल, केदार सञ्जेल, नागेन्द्र चौधरी र पुरुषोत्तम पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचका प्राकृति स्रोत तथा राजश्व बाँडफाँड हेर्दा सामान्य विषय रहे पनि यसले गम्भीर असर पार्नेतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुले संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष आयोग गठन भएकाले आयोगलाई समावेशी र समानुपातिक बनाउन सुझावसमेत दिए ।

समितिका सभापति ज्वालाले सङ्घ, प्रदेश र स्थानीय तहबीचका प्राकृतिक स्रोत तथा राजश्व बाँडफाँडमा विधेयकलाई अझ परिमार्जन गर्न आवश्यक रहेको बताउका छन् ।

संविधानको क्षेत्र खुम्चिएको छैनः अर्थमन्त्री कार्की

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीयता कार्यान्वयनको खुड्किलाको रुपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठनसम्बन्धी विधेयक, २०७४ आएको चर्चा गर्दै संविधान रहेका क्षेत्रलाई विधेयकले नखुम्च्याएको बताए ।

उनले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा न्यायोचितरुपमा नै प्राकृतिक स्रोत र राजश्व बाँडफाँड हुने कुरामा आशंका नगर्न विधायिकासित आग्रह गर्दै विधेयकलाई छिटो पारित गराउन आग्रह गरे ।

अर्थमन्त्री कार्कीले भने, “प्राकृतिक स्रोत तथा राजश्व बाँडफाँडका विषयलाई विवादित बनाउनु हुँदैन, सङ्घ, प्रदेश र स्थानीय निकायका बीचमा समन्वय हुनुपर्छ ।”
रासस

प्रकाशित मिति : २७ श्रावण २०७४, शुक्रबार ००:००