७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाकालीमा पुलसंगै सडकका लागि १० करोड विनियोजन




भीमदत्तनगर
, २६ साउन । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणसंगै भीदमत्तनगरपालिकाको भुजेला क्षेत्रमा निर्माण हुने करिब सात किलोमीटर सडक बनाउन मुआब्जा वितरणका लागि रु १० करोड छुट्याएको छ ।

गड्डाचौकीदेखि पुल निर्माणस्थलसम्म करिब सात किमी सडक चार लेनको बन्ने महाकाली पुल योजना कार्यालय भीमदत्तनगरले जनाएको छ । सो सडक निर्माणका लागि करिब २५ देखि ३० बिगाहा जमिन प्रयोग गरेबापत सरकारले मुआब्जा रकम दिने तयारी गरेको छ ।

“मुआब्जाका लागि सबै प्रक्रिया भएर योजना प्रमुखलाई सोको अख्तियार सहित सदर भएर आएको छ,” महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले भने, “अब चाँडै फिल्ड सर्वे गरेर सडकका लागि जमिन लिने र मुआब्जा दिने काम थालिनेछ ।”

सरकारले चालू आव २०७४/७५ मा महाकाली नदीमा पुल निर्माणका लागि रु ९९ करोड ६५ लाख रकम विनियोजन गरेको छ । सोही रकममध्ये रु १० करोड रकम जमिन मुआब्जाका लागि छुट्याइएको पुल योजना प्रमुख पन्तले जानकारी दिए ।

“दायाँ र बायाँ २५–२५ मिटर गरी ५० मिटर क्षेत्रफल सडकका लागि दिनुपर्ने हुन्छ,” उनले भने, “जग्गा प्राप्ति ऐनअनुसार मुआब्जाको काम गरिन्छ ।” उनले आगामी भदौदेखि सडकका लागि मुआब्जाको काम थालिने जानकारी दिए ।

त्यसैगरी महाकाली नदीमाथि बनाइने चार लेनको पुलको ठेक्का कुमार सिएसइसी जेभीलाई परेको छ । महाकाली पुल योजनाका प्रमुख पन्तले दशैं तिहारपछि पुल निर्माणको काम शुरु हुने बताए । “ठेक्का भएर सम्झौताका लागि प्रक्रियामा छ,” उनले भने, “ठेक्का प्रक्रियाको बाँकी काम सडक विभागले गर्दैछ ।”

महाकालीमा रहेको वनवसा पुलदेखि झण्डै सात किमी दक्षिणतर्फ र महाकालीको दोधारा चाँदनी झोलुंगे पुलदेखि करिब अढाइ किमी उत्तरमा ८०० मिटर लामो चार लेनको पक्की पुल बन्नेछ । पुल निर्माणका लागि गत चैतमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भीमदत्तनगरमा पुल योजनाको कार्यालय स्थापना गरेका हुन् ।
रासस

प्रकाशित मिति : २६ श्रावण २०७४, बिहिबार ००:००