११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध




आदित्य दाहाल, मेलम्ची ।

सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची बजारबाट तिपेनी हुँदै भोताङ जाने सडक पहिरो गएपछि अवरुद्ध भएको हो ।

जिल्लाको लाङ्टाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला शुरु हुनै लाग्दा पाँचपोखरी जानका लागि प्रयोग हुने मेलम्ची–भोताङ सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेला यसपटक चन्द्रग्रहणका कारण मेला सरेको छ । यही साउन १९ देखि २४ गतेसम्म मेला सञ्चालन हुने पाँचपोखरी दुप्चाङ युवा क्लबका अध्यक्ष करण लामाले बताए ।

वर्षाका कारण पाँचपोखरीसम्म पुग्ने सडकखण्डमा यातायात सञ्चालनमा पहिरोले समस्या हुँदा मेला भर्नका लागि जाने पर्यटकले पैदल हिँड्नुपर्ने अवस्था आएको हो ।

पाँचदिनसम्म लाग्ने मेला भर्नका लागि पाँचपोखरीमा विभिन्न गाउँ र जिल्लाबाट तीर्थालु जाने गर्छन् । इन्द्रावती नदीको मुहान मानिने पाँचपोखरीमा सूर्य, भैरव, नाग, सरस्वती र गणेशकुण्ड गरी पाँचवटा छुट्टाछुट्टै पोखरी रहेका छन् ।

विभिन्न जात र धर्मका भक्तजन आ–आफ्नो संस्कृति र विश्वासअनुरुप पूजाआराधना तथा स्नानका लागि पाँचपोखरी पुग्ने गर्छन् । प्रत्येक बर्खामा हुने अविरल वर्षाका कारण पहिरोले सडक अवरुद्ध गर्ने हुँदा तीर्थस्थलसम्म पुग्ने तीर्थयात्री तथा पर्यटक दुई दिनको समय लगाएर हिँड्न बाध्य हुने गरेका छन् ।

मानेखर्कका शंकर लामा भन्छन्, “हरेक बर्खाको समयमा पहिरोको कारण यातायात सञ्चालन नहुँदा धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरी जाने तीर्थयात्रु तथा पर्यटकले निकै सास्ती खेप्नु परेको छ ।”

वर्षाका कारण मेलम्ची–भोताङ सडकखण्डको विभिन्न ठाउँमा गएको पहिराका कारण पाँचपोखरी, थाङ्पाल गाउँपालिकाका गुन्सा, भोताङ, भोटेनाम्लाङ, थाङ्पालधापलगायतका स्थानीयवासी सो क्षेत्रको मुख्य बजार मेलम्चीबाट पाँच–छ घण्टाको बाटो हिँड्न बाध्य रहेको उनी बताउछन् ।

तिपेनी बजार हुँदै भोताङ पाँचपोखरी जाने सडकको महादेव खोलामा पुल नहुँदा स्थानीयवासी सडकसंगको सम्बन्धविच्छेद झेल्न बाध्य छन् । बर्खायाममा पानीको बहाव बढी हुने हुँदा खोलाबाट कुनै सवारीसाधन आवतजावत गर्न सक्दैनन् ।

लामाका अनुसार हरेक वर्ष पुल अभावको समस्या झेल्दै आएका पाँचपोखरी थाङ्पाल गाउँपालिका अन्तर्गतका मानेखर्क, गुन्सा, धाप गाउँका बासिन्दा यसपालि पनि उही समस्यासंग जुधिरहेका छन् ।

पुल निर्माणमा सम्बन्धित निकायको चासो नहुँनु र चरम भ्रष्टाचार हुनु पुल नबन्नुको प्रमुख कारण रहेको स्थानीयवासीको आरोप छ । पटकपटक पुल अभावको शिकार बनेका स्थानीयवासीले सम्बन्धित निकायमा गुनासो लैजाँदासमेत सुनुवाइ नभएको पीडा पोखेका छन् ।

पाँचपोखरीमा स्नान गरेपछि पापबाट मुक्ति मिल्ने र पितृको स्वर्गमा बास मिल्ने विश्वास गरिन्छ । पाँचपोखरी स्नानसंगै रैथानेश्वर पोखरी र नौलिंगेश्वरमा पनि मेला भर्ने परम्परागत प्रचलन रहेको छ ।

मेलामा तामाङ समुदायका विभिन्न झाँकीले सांस्कृतिक मेला भर्ने गर्छन् । काठमाडौँ उपत्यकालगायत काभ्रे, दोलखा, रामेछाप, सिन्धुलीसमेतका तीर्थयात्री मेलम्ची हुँदै पाँचपोखरी र गोसाइँकुण्ड जाने गर्छन् ।

मेलामा हुने अनैतिक गतिविधि जस्तै लुटपाट, झैझगडा रोक्न र सुरक्षाको प्रत्याभूती दिलाउन प्रहरीले विशेष व्यवस्था मिलाइसकेको इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

पाँचपोखरी उच्च हिमाली क्षेत्रमा पर्ने हुनाले मेला भर्न जाने पर्यटकलाई लेक लाग्न सक्ने हुँदा लसुन, नून, टिमुर बोकेर जान युवा क्लबका अध्यक्ष लामाले आग्रह गरेका छन् ।
रासस

प्रकाशित मिति : १५ श्रावण २०७४, आइतबार ००:००