१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तमानखोला गाउँपालिकामा यातायात अवरुद्ध हुँदा स्थानीयवासी प्रभावित




रामबहादुर थापा, बागलुङ ।

जिल्लाको दुर्गममा पर्ने तमानखोला गाउँपालिकामा यातायात अवरुद्ध हुँदा स्थानीयवासी प्रभावित भएका छन् । वर्षा लागेसंगै यातायात अवरुद्ध हुँदा उनीहरु प्रभावित भएका हुन् ।

स्तरीय सडक र पक्की पुलको अभावमा स्थानीयवासीलाई गाउँपालिकाको केन्द्र बोङ्गादोभान पुग्न पनि १० किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता छ । सिंगो गाउँपालिकामा यातायात ठप्प रहेको सो गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।

बुर्तिवाङ, खुङ्गा हुँदै बोङ्गादोभान जोड्ने र म्याग्दीको दरबाङबाट तमान जोडिने दुबै सडकमा यातायात सेवा अहिले रोकिएका छन् । ‘खोला बढ्नासाथ यातायात रोकिन्छ, सडकमा पहिरोको उस्तै समस्या छ’ अध्यक्ष बुढाले भने, “अब दिगोरुपमा समाधान खोज्छौं ।” उनले शिक्षा, स्वास्थ्यसंगै यातायातको क्षेत्रमा गाउँपालिका पछाडि परेको बताए ।

अहिले बुर्तिवाङ हुँदै हुन्द्राफेदीसम्म चलेका गाडी लुकुरवन खोलामा पुल नहुँदा तमानखोला छिर्नसकेका छैनन् । यस्तै, नजिकैको भालिबाङघाट खोलामा पनि तत्काल पक्की पुलको आवश्यकता छ । गाउँपालिका केन्द्र बोङ्गादोभानसम्म बाह्रैमहिना यातायात चलाउन दुई पुल बनाउनुपर्ने भए पनि ६ वटै वडामा पुल बनाउनुपर्ने देखिन्छ । पुल संगसंगै सडकको पनि स्तरोन्नति नगरिए समस्या उस्तै रहने वडा नं– ३ का व्यवसायी कुलबहादुर बुढाले बताए ।

उनले ८ वर्षअघि सञ्चालनमा आएको ‘ओखरबोट–सोलेडाँडा–तमान’ सडक पनि स्तरोन्नतिको अभावमा वर्षायाममा अवरुद्ध हुनेगर्छ । तमानखोला गाउँपालिका जान म्याग्दी भएर जाने उक्त सडक पनि हिउँदमा मात्र चल्ने गर्छ । ‘सडकमा यातायात रोकिएपछि म्याग्दीको दरवाङबाट खच्चरमा सामान ढुवानी गर्नुपर्ने बाध्यता छ’ अध्यक्ष बुढाले भने ।

यातायात नचलेपछि उपभोग्य सामान गाउँमा पुग्दन महँगो पर्जे गरेको छ । टाढाको दुरीमा हिँडेरै यात्रा गर्नुपर्दा सर्वसाधारणलाई ठूलो सास्ती व्योहोर्नु परेको छ । मध्यपहाडी लोकमार्ग छोडेर बुर्तिवाङबाट तमानखोला गाउँपालिका छिर्दा सडकको अवस्था अत्यन्त जीर्ण रहेको सो गाउँपालिकाका कार्यकारी अधिकृत खिम विकले बताए । मापदण्ड विपरीत मनपरी ढंगाले खनिएका सडकले समस्या निम्त्याएको उनको भनाइ छ ।

‘सडकको ‘ग्रेड’ नै छैनन्, मनपरी खनिएको छ’ कार्यकारी अधिकृत विकले भने । विकट र भिरालो भूगोलका कारण सडकमा पहिरोको समस्या बढिरहेको उनले बताए । कार्यकारी अधिकृत विकका अनुसार गाउँपालिकाको चालु आवको बजेटमा सडकलाई प्राथमिकता दिइएको छ । गाउँपालिकालाई राष्ट्रिय राजमार्गमा जोड्ने र अन्य आन्तरिक गरी १३ वटा सडक आयोजनालाई बजेट छुट्ट्याइएको छ ।

यस्तै, आठ स्थानमा पक्की पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । ‘सडक र यातायात हाम्रो मुख्य प्राथमिकतामा छ, सडक निर्माणलाई व्यवस्थित गर्छौं’ अधिकृत विकले भने, “मनपरी सडक खन्ने क्रम रोकेर सम्भाव्यता अध्ययनपछि मात्र खन्छौं ।”

गाउँपालिकाले ग्रामीण सडक खन्न प्रयोग हुने ठूला उपकरणको पनि अनुगमन र नियमन गर्ने जनाएको छ । गाउँपालिकाको अनुमति लिएर मात्र त्यस्ता उपकरण प्रयोग गर्न पाइने व्यवस्था गर्न लागिएको छ । सदरमुकामदेखि २४ कोस पश्चिममा रहेको तमानखोला गाउँपालिका जिल्लाकै सबैभन्दा दुर्गम मानिन्छ ।
रासस

प्रकाशित मिति : १४ श्रावण २०७४, शनिबार ००:००