७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोरुंगा र कोयाखोलामा पुल नहुँदा यातायात सञ्चालनमा समस्या




तेह्रथुम
। जिल्लाको पूर्वी क्षेत्रलाई सदरमुकामसंग जोड्ने एकमात्र म्याङ्लुङ–सक्रान्तिबजार सडकखण्डअन्तर्गतका खोरुंगा र कोयाखोलामा पुल नहुँदा यातायात अवरुद्ध भएको छ । दुवै खोलामा पुल नहुँदा चार वर्षदेखि खोलाको बीचबाट जोखिम मोलेरै यातायात सञ्चालन हुने गरे पनि वर्षात्को समयमा पानीको बहाव बढेपछि वर्षेनी यातायात अवरुद्ध हुने गरेको छ ।

यो वर्ष पनि पानीको बहाव बढेपछि कोयाखोलाबाट सवारी आवतजावत गर्न नसकेको दुई साता बढी बितेको छ भने खोरुंगामा पनि वर्षा शुरु हुनासाथ यातायात ठप्प हुने गरेको छ । छिटफुटरुपमा चल्ने गरेका सवारीसाधनले पनि बढी भाडा असुल्ने गरेका छन् । खोलामा पानी बढेपछि सवारी आवतजावत गर्न सकेका छैनन् । यात्राका क्रममा पानी परेर खोलामा पानीको बहाव बढेपछि यात्रु बीचबाटोमै अलपत्र पर्ने गरेका छन् ।

पानीको बहाव बढेर सडक अवरुद्ध भएपछि फेदाप र आठराई गाउँपालिकाका डेढ दर्जन गाउँवासीलाई सदरमुकाम आउन दुई दिनको पैदल हिँड्नुपर्ने बाध्यता छ । जिल्लामा सेवा प्रदायक सरकारी निकायका सेवा गाउँकेन्द्रित हुने क्रममा छन् । तर अहिले पनि गाउँवासीले भने सास्ती व्यहोर्नु परिरहेको छ ।

दुई दिनसम्म निरन्तर पानी पर्दा हिउँदमै पनि पानीको बहाव बढेर यातायात अवरुद्ध हुन्छ । वर्षात् हुने झन्डै छ महिनाको अवधिभरि जिल्लाका ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु, इसिवु, खाम्लालुङ, सक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, इवा र ह्वाकु गाउँसंगको सडक सम्पर्क टुट्ने गरेको छ । सडक सम्पर्क भरपर्दो बनाउन सम्बन्धित निकायले चासो नदिँदा मर्का परेको आठराइवासी बताउँछन् ।

झन्डै एक दशकयता सडक निर्माण शुरु गरिए पनि अहिलेसम्म पुल बनाउन चासो नदिइएको सक्रान्तिबजारका महेन्द्र विमलीले बतए । उनले भने– “हामी आठराइवासीलाई सदरमुकाम जान पैदल जाँदा दुई दिन लाग्छ, हिँडेर जान नसक्नेहरुले पाँचथरको फिदिम हुँदै झापा घुमेर धरानबाट धनकुटा हुँदै तेह्रथुम आउनुपर्छ जुन खर्चालु हुन्छ ।” सरकारी सेवा सुविधा लिन पनि मौसम कुर्नुपर्ने आठराइवासीको बाध्यता रहेको उनले बताए । रासस

प्रकाशित मिति : ८ श्रावण २०७४, आइतबार ००:००