तिलोत्तमा (रुपन्देही) । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनभन्दा पहिले तीन चरणका निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।
प्रगतिशिल पत्रकार सङ्घ, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनप्रतिनिधिको अधिकार खोस्ने, हिन्दी भाषालाई कामकाजी भाषा बनाउने षडयन्त्रसहितको संविधान संशोधन जनताको पक्षमा नभएको बताए ।
उनले छिमेकीलाई मान्य हुने गरी संविधान संशोधन गर्ने षडयन्त्रसमेत भएको बताए । संविधान सबैलाई मान्य गराउने नाममा संशोधनको बहाना बनाइएको भन्दै संविधान सबैलाई मान्य हुन्छ भन्ने तर्क अवैज्ञानिक भएको उनको भनाइ छ ।
उनले गणतन्त्र संस्थागत गर्न र संविधानको कार्यान्वयन गर्ने दायित्व जननिर्वाचित जनप्रतिनिधिको काँधमा आएको बताए । ठूला दलका ठूला नेताहरु जसरी पनि सत्तामा बस्ने दाउमा रहेको भन्दै उनले संविधान कार्यान्वयन र गणतन्त्र संस्थागत गर्ने दायित्व जनप्रतिनिधिको काँधमा आएको बताए ।
अहिले संविधान संशोधनभन्दा पनि संविधान कार्यान्वयन गर्नु पहिलो आवश्यकता रहेको उल्लेख गर्दै सत्तामा बस्नेले संविधान कार्यान्वयनको बहानामा सत्ताको बसाइ लम्व्याउन चाहेको उनको भनाइ थियो ।
केसीले अहिलेको संसद् कामचलाउ संसद् भएको भन्दै यसलाई संविधान संशोधन गर्ने अधिकार नभएको स्पष्ट पारे । २ नं प्रदेशबाहेकका क्षेत्रमा स्थानीय तहको निर्वाचन सम्पन्न भए पनि अझै दुईवटा निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयनको चरणमा पुग्ने भन्दै उनले बाँकी रहेका निर्वाचन पनि समयमा सम्पन्न गर्नुपर्ने बताए ।
उनले केही पार्टीले स्थानीय तहलाई अधिकार सम्पन्न गराउने साटो स्थानीय तहलाई दिइएको अधिकार पनि खोस्ने दाउमा लागेको आरोप लगाए । उनले ‘थ्रेसहोल्ड’ लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म पनि जान नदिने षडयन्त्र भइरहेको पनि बताए । रासस
प्रतिक्रिया