६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीमा नेपालमै पहिलो रामायण पार्क बन्ने




बेनी
(म्याग्दी) । बेनी नगरपालिकालाई नेपालकै नमूना नगरपालिका बनाउने अभियानअन्तर्गत म्याग्दीको बेनी नगरपालिकामा रामायण पार्क बनाई रावणको पनि मूर्ति राखिने भएको छ ।

रामायणमा बहुचर्चित खलपात्रका रुपमा चिनिएका रावणको जन्मस्थान पौलस्त्य पुलहाश्रम क्षेत्रमा सो पार्क बनाइने भएको हो । रामायण पार्क निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ०७४।७५ का लागि नगर सभाबाट स्वीकृत गरिएको बजेटमा रु १० लाख विनियोजन गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रामायण पार्क बनाइने नगरपालिकाले जनाएको छ ।

नेपालकै पहिलो र नयाँ तथा बहुचर्चित योजनाका रुपमा समेत चिनिएको पार्क बनाउन वडा नम्बर ६, ७ र ८ भित्र पर्ने बराहपाखो र आपारुख सामुदायिक वनअन्तर्गत हुलाकचोकबाट अर्थुङे जाने पुरानो खानेपानीको धारा रहेको स्थान प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएको स्थानको स्थलगत अनुगमन तथा आवश्यक पूर्वाधार विस्तारका लागि प्रक्रिया अगाडि बढाउने नगरपालिकाले जनाएको छ ।

आन्तरिक तथा भारत र श्रीलंकाका हिन्दू धर्माबलम्बीलाई आकर्षित गर्न पार्कको अवधारणा ल्याइएको बेनी नगरपालिकाका कार्यकारी अधिकृत विश्वमित्र कुइँकेलले बताए ।

“धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ, बजेटअनुसार काम अगाडि बढ्छ,” उनले भने । बेनी नगरपालिका–५ पुलाचौरको पुलाहा आश्रम लंकाका राजा रावणको जन्मस्थान मानिन्छ । श्रीमद्भागवत, मत्स्य पुराण लगायतका ग्रन्थमा समेत पौलस्त्य क्षेत्रको वर्णन गरिएको म्याग्दीका पं नीलकण्ठ आचार्यले बताए ।

पौलस्त्य ऋषिको तपोभूमिसमेत रहेको पुलाहाआश्रमको प्रवेशद्वारका रुपमा पार्कलाई विकास गर्ने योजना रहेको छ । विश्वका हिन्दू धर्मावलम्बीका पाँच ठूला धार्मिकस्थलमध्ये पुलाहा आश्रमसमेत पर्ने भएपनि प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ ।

पुलाहाआश्रम क्षेत्र विकास कोषले महायज्ञमार्फत मन्दिरको निर्माण गरेको भएपनि थप पूर्वाधारको अभाव देखिएको अवस्थामा रामायण पार्कले हिन्दू धर्मावलम्बीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगर क्षेत्रलाई नमूना बनाउने बताए । उनले नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण लम्ब्याउने गरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताए । रासस

प्रकाशित मिति : ६ श्रावण २०७४, शुक्रबार ००:००