१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमै मतदाता नामावली संकलनको माग




बेनी
(म्याग्दी) । म्याग्दीका जनप्रतिनिधिले गाउँमै मतदाता नामावली संकलनको माग गरेका छन् । स्थानीय तहको निर्वाचनपछि केन्द्रको सुविधा गाउँमा पुगेको प्रचारप्रसार गरिए पनि मतदाता नामावली संकलन सदरमुकाममा गर्न खोजिएको भन्दै उनीहरुले तत्काल छोटो समयका लागि भए पनि गाउँपालिकाको कार्यालयबाट सो व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

“सडक अवरुद्ध छ, गाउँबाट सदरमुकाममा आउनै मुस्किल छ,” धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले भने, “गुर्जा, लुलाङ, मुदी, मल्कवाङजस्ता विकट बस्तीबाट सदरमुकाम आउँदा धेरै सास्ती हुने भएकाले सम्बन्धीत गाउँपालिकामा नै मतदाता नामावली संकलनको व्यवस्था मिलाउन सक्नुपर्दछ ।”

चुनावी अभियानका क्रममा दुर्गम क्षेत्रमा पुगेका राजनीतिक दलका नेताले मतदाता नामावलीमा नाम नभएका धेरै मतदाता भेटेको बताउँदै त्यस्ता मतदातालाई सुविधा दिन गाउँमै नाम दर्ताको वातावरण बनाउनुपर्ने बताएका छन् । तर जिल्ला निर्वाचन कार्यालयले जनशक्ति र आयोगबाट अनुमति नभएकाले कार्यालयमै व्यवस्था गरिएको जनाएको छ ।

जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले जिल्लाको समस्याका बारेमा जानकार भए पनि दुईवटा निर्वाचनको तयारी गर्नुपर्ने र गाउँबाट संकलन गरिएका मतदाताको नामावली रुजु गर्न समय लाग्ने भएकाले पनि यसपटक सम्भव नभएको बताए ।

निर्वाचन कार्यालय म्याग्दीले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि साउन १ देखि १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने समय तोकिएको छ । यो समय छोटो भएको भन्दै उनीहरुले समय अवधि हेरफेरको मागसमेत गरे ।

जिल्ला सदरमुकाम जोड्ने अधिकांश ग्रामीण सडक अवरुद्ध अवस्थामा छन् । सडक अवरुद्ध भएको कारण आवत जावतमा समस्या हुने र रोपाइँसमेत नसकिएकाले उमेर पुगेका मतदाता समेत छुट्ने सम्भावना देखिएकाले मतदाता नामावली संकलनको समय बढाउनुपर्ने माग यहाँका जनप्रतिनिधिले गरेका छन् । म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका छन् । रासस

प्रकाशित मिति : ४ श्रावण २०७४, बुधबार ००:००