९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन प्रवर्धनका लागी जनप्रतिनिधि सक्रिय



वासुदेव पौडेल, पोखरा
पोखरा लेखनाथ महानगरपालिकाका भरतपोखरी, निर्मलपोखरी र कृष्तिनाच्ने चौर, दोभिल्ला छोरेपाटनलगायत क्षेत्र समेटेर पर्यटकीय गन्तव्य वनाउन निर्वाचित जनप्रतिनिधिले सामूहिक प्रयास थाल्ने भएका छन् ।

पर्यटकीय विकासको प्रचुर सम्भावना भएपनि अ‍ेझेलमा परेको भन्दै निर्वाचित जनप्रतिनिधिले ती क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रयास थालेका हुन् ।

पोखरा लेखनाथ– २१ का वडाध्यक्ष खगराज आचार्यले तीनवटै वडाका जनप्रतिनिधिले बृहत् गुरुयोजनासहित अघि बढ्ने निर्णय गरिएको बताए । प्राकृतिक रुपमा सुन्दर भरतपोखरी, निर्मलपोखरी र कृष्तिको पर्याप्त पर्यटकीय सम्भावना रहेपनि उपयोग गर्न नसकिएको स्थानीयवासी बताउँछन् ।

दक्षिणभेगमा अवस्थित विभिन्न जातजातिका मौलिक संस्कृतियुक्त स्थानबाट आठ हजार मिटरभन्दा बढी उचाइका हिमाली दृश्य अवलोकन गर्न सकिन्छ । उक्त क्षेत्रमा पर्ने हुडिकोट, बरपाण्डेथुम, फोक्सिङकोट, मट्टिखान, स्वाहारा, धुवाँरकोट लगायतका ठाउँबाट पोखरा उपत्यकासहित माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

प्राचीनकालदेखि अस्तित्वमा आएका बाँझी पोखरी, डाँडापोखरी जस्ता ठूला पोखरीलाई समेटेर पर्यटन पार्क बनाउने योजना अघि सारिएको छ । ग्रामीण पर्यटनको विकास गर्न यहाँका धुवाँरकोट, चिलाउनेखर्क, सुर्ताने, जिब्रेढुङ्गालगायत स्थानमा घरवास कार्यक्रम अघि बढाउन लागिएको छ ।

“पर्यटनका समग्र पक्ष समेट्ने गुरुयोजनासाथ अघि बढ्ने छौँ,” वडाध्यक्ष आचार्यले भने । प्रारिम्भक चरणमा सबै पर्यटकीयस्थल समेट्ने गरी नक्सा तयार हुनेछ । पोखरा लेखनाथ– १७ मा पर्ने दोभिल्ला, छोरेपाटनलगायतका स्थान पोखराको मुख्य बजार क्षेत्रबाट भरतपोखरी, निर्मलपोखरी र कृष्तिनाच्ने चौर प्रवेश गर्न सकिन्छ । पृथ्वी राजमार्गमापर्ने भण्डारढिक, गगनगौँडा लगायतका स्थान पनि भरतपोखरी प्रवेश गर्ने नाका हुन् ।

कुभिण्डेदेखि हुडिकोटसम्म रिजलाइन पदमार्गको विकास गर्ने बताइएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै बढ्नसक्ने पर्यटकको चापलाई दृष्टिगत गरी आसपासका क्षेत्रमा पर्यटकीय विकासका प्रयास हुन थालेका छन् । पर्यटकीय विकासलाई लक्षित गरी आगामी बजेटमा विभिन्न कार्यक्रम राखिएको ३३ नं वडाध्यक्ष शिवप्रसाद आचार्य बताउछन् ।

“भरतपोखरीमा ठूलाढुंगाबाट देउराली, भर्तीपोखरा, भोटेपोखरी हुँदै हाइकिङ मार्गको विस्तार गर्ने लक्ष्य राखिएको छ,” उनले भने । सो वडामा पर्यटन पूर्वाधार विकास गर्न रु तीन करोड विनियोजन गरिएको छ ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया स्थानीय तहबाट पर्यटकीय सम्भावनाको खोजी गरिनु आफैंमा महत्वपूर्ण कार्य भएको बताउछन् । “पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवद्र्धनलाई बोर्डले प्राथमिकतामा राखेका कारण स्थानीय सक्रियतासंगै हामी पनि हातेमालो गर्दै अघि बढ्न तयार छौँ,” उनले भने । रासस

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार ००:००