२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङ र सुनसरीमा जनता आवास निर्माण



गोपालप्रसाद पोखरेल,
पथरी (मोरङ) । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ र सुनसरीमा ७५७ वटा आवास निर्माण सम्पन्न भएका छन् । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङले मोरङ र सुनसरीमा एक हजार ४९० आवास निर्माण गरिरहेका मध्येबाट ७५७ अवास निर्माणको काम सकिएको हो ।

बाँकी ७३३ आवास निर्माणको काम ९२ प्रतिशत सम्पन्न भइसकेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङका प्रमुख श्यामकिशोर सिंहले बताए । उनका अनुसार मोरङको डाइनिया, रंगेली नगरपालिकाको आँपगाछी, मोरङको कदमाहा, सौराभाग, हात्तीमुडा डंग्राहा, सुनसरीको दुहबी भलुवा नगरपालिकामा जनता आवास कार्यक्रम अन्तर्गतका केही आवास निर्माण सम्पन्न भएका छन् भने केही आवास निर्माण भइरहेका छन् ।

कार्यक्रम अन्तर्गत गरिबीको रेखामुनि रहेका मोरङ र सुनसरीका सरदार र बाँतर समुदायलाई सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङले घर बनाउन रकम उपलब्ध गराएको थियो । घर बनेपछि मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै खुसी छन् ।

सरदारहरु नयाँ घर बनाउन सरकारले दिएको खर्चले घर निर्माण भएपछि खुसी भएका हुन् । डाइनियामात्रै होइन रंगेली नगरपालिकाको आँपगाछीका बाँतरहरु पनि निकै खुसी छन् ।

आँपगाछीका बलितलाल बाँतर सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि खुसी भएका हुन् । उनले भने– “हामी गरिब छौँ, तर सरकारले घर बनाउन पैसा दिएकाले घर बनायौ, राम्रो भयो,” उनीमात्र होइन, मोरङको कदमाहा, सौराभाग, हात्तीमुडा, डंग्राहालगायत स्थानका विपन्न समुदाय पनि निकै खुसी छन् ।

डंग्राहाकी मुखानीदेवी सरदारले सरकारलाई धन्यवाद दिइन् । उनले भनिन्,– “सरकारलाई धन्यवाद छ हामीलाई घर बनाउन पैसा दियो ।” सांसद् अमृत अर्यालको संयोजकत्वमा घर निर्माणको काम भइरहेकाले आवास निर्माणका काम समयमै सम्पन्न भएको हो । बाँकी काम पनि दुई महिनाभित्र सम्पन्न हुनेछ ।

सो कार्यक्रम सञ्चालन गर्न अमृत अर्यालको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति रहेको जनता आवास जिल्ला समन्वय समिति बनेको थियो ।

त्यसको सदस्यमा सांसद ऋषिकेश पोखरेल, सांसद अमनलाल मोदी, मोरङका प्रजिअ, स्थानीय विकास अधिकारी, नापी र मालपोत कार्यालयका प्रमुख पनि सदस्य छन् । जनता आवास निर्माणका लागि सुनसरी मोरङमा रु १८ करोड ५९ लाख बजेट छुट्याइएको छ । रासस

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार ००:००