१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘पाँच वर्षको तलब ज्येष्ठ नागरिक र अपाङ्गलाई’



भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका– १ का नवनिर्वाचित वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले आफ्नो पाँच वर्षको कार्यकालमा सरकारबाट प्राप्त हुने तलब वडामै वितरण गर्ने घोषणा गरेका छन् ।

भीमदत्तनगरपालिका १ बाराकुण्डास्थित वडा समितिको कार्यालयमा शुक्रबार बसेको पहिलो बैठकमा वडाध्यक्ष कुँवरले पाँच वर्षसम्मको तलब वडाका ७५ वर्षभन्दा माथिका वृद्धवृद्धा र पूर्ण अपाङ्गलाई दामासाहीले वितरण गर्ने घोषणा गरेका छन् ।

घोषणासंगै उनले वडासचिव प्रेमबहादुर विष्टलाई ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको लगत संकलन गर्न निर्देशनसमेत दिए । आफूले मासिक पाउने रु २० हजार वितरण गर्नका लागि निर्देशिका बनाइने उनको भनाइ छ ।

“म यहीँका नागरिकको सहयोगामा वडाध्यक्षको कुर्सीमा पुग्नुका साथै तलब लिने मान्छे भए,” वडाध्यक्ष कुँवरले पहिलो बैठकमा भने– “मैले पाउने सरकारी सुविधा गाउँकै नागरिकको सम्मान र भलाइका लागि खर्च गर्नेछु ।”

बैठकमा उपस्थित स्थानीयवासीले दुईवटा खोलाको बीचमा रहेको वडा नं १ मा झोलुङ्गे पुल, सडक, खानेपानी र बिजुलीको प्रबन्ध गर्नका लागि पहल गरिदिन वडाध्यक्ष कुँवरलाई आग्रह गरेका छन् । खन्नेखोला र रौटेला खोलाको बाढीका कारण बर्सेनि स्थानीय बासिन्दाले दुःख पाउने गरेका छन् ।

स्थानीय डिल्लीराज हमाल पहिलो दिनमै वडाध्यक्षले परोपकारी निर्णय गरेर पाकापुस्ताप्रति सम्मान व्यक्त गर्नु सुखद संकेत भएको बताए । स्थानीय ६० वर्षीय दलबहादुर विष्टले वडाध्यक्ष कुँवरले आफ्नो तलब गाउँलेलाई प्रदान गर्ने निर्णयको स्वागत गरे । “यस्तो निर्णय कहिल्यै भएको थिएन, यहाँका बस्ती जोगाउन तटबन्ध निर्माणको समेत उहाँको प्रतिवद्धता आउनेमा आशावादी छौँ,” विष्टले भने ।

वडाध्यक्ष कुँवरले आफू वडाको समग्र समस्याप्रति जानकार रहेको र समाधानका लागि लागिपर्ने बताए । “यहाँको धार्मिक तथा पर्यटकीय सम्भावनाका बारेमा पनि म संग योजना छन्, त्यसमा कटिबद्ध भएर लाग्छु,” उनले भने– “किसानमुखी कार्यक्रम वडामा सञ्चालन गर्ने योजना बनाएको छु ।” रासस

प्रकाशित मिति : ३० असार २०७४, शुक्रबार ००:००