२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दमक नगरपालिकाले ‘नलेज बैंक’ खोल्ने




दमक
। झापाको दमक नगरपालिकाले नगरको समृद्धि अभियानमा सघाउने उद्देश्यले सम्भवतः नेपालमा नै पहिलोपटक ‘नलेज बैंक’को अवधारणा ल्याएको छ ।

दमकको विकास र यहाँको समृद्धिका लागि आवश्यकीय प्राज्ञिक, विभिन्न पेशागत दखल भएका बौद्धिक व्यक्तित्व र सर्वसाधारणलाई समेटेर नगरपालिकाले त्यस्तो ‘नलेज बैंक’ (ज्ञान भण्डार) को अवधारणा ल्याएको हो । नगरप्रमुख रोमनाथ ओलीले सबै क्षेत्रको नगरसम्बन्धी दृष्टिकोण तथा विचारलाइ सङ्ग्रहित गर्नका लागि ‘नलेज बैंक’ स्थापना गर्ने तयारी गरिएको जानकारी दिए ।

उनले भने, “हामीले नगरलाई समृद्ध गराउन देश–विदेशका अनुभवलाई साटासाट गर्न तथा यहाँको प्राज्ञिक अनुभवलाई उपयोग गर्न नलेज बैंकको अवधारणा ल्याउन पहल गरेका हौ ।”

यस्तो अवधारणा झट्ट सुन्दा अचम्म लागे तापनि यसबाट नगरपालिकालाई फाइदा पुग्ने नगरप्रमुख ओली बताउछन् । ओलीले रगत जम्मा गरेर धेरैको ज्यान बचाउने काम ब्लड बैँकले गरेजस्तै विकासका लागि बुद्धिजीवीका सुझाव र योजनालाई सङ्ग्रहित गर्नका लागि यस्तो अवधारणा उपयोगी हुने दाबी गरे ।

उनले जनप्रतिनिधि र कर्मचारीसंगै प्राज्ञिक व्यक्तित्वको अनुभवलाई एकै ठाउँमा उपयोग गर्न यस्तो प्रयास शुरु गरिएको बताए । उनले भने, “मानिसहरुको बुद्धि र विवेकलाई पनि जम्मा गर्न सकिन्छ र आवश्यकता परेको अवस्थामा रोयल्टी तिरेर भएपनि त्यसको प्रयोग गर्नुपर्छ ।” यो बैँकमा राखिएका विचार तथा दृष्टिकोणलाई आधुनिक कम्प्युटर प्रविधिबाट विश्वका जुनसुकै ठाउँमा आदान प्रदान गर्नसमेत सकिने उनको भनाइ छ ।

नगरपालिकाको विकास र नगरपालिकासंग सम्बन्धित जुनसुकै विषयका सुझाव, गुरुयोजना, विचारलाई एकीकृत गर्न त्यस बैंकले काम गर्ने तथा त्यस्ता कुनै रचनात्मक श्रव्य दृश्य, लिखित, मौखिक, जुनसुकै तवरबाट पनि जो कोहीले पनि नगरपालिकालाई उपलब्ध गराउन सकिने व्यवस्था गरिने नगरप्रमुख ओलीको जोड छ ।

अहिलेसम्म क्षमतावान् व्यक्तिको दूरदृष्टि (भिजन) लाई सुन्ने र सङ्ग्रहित गर्ने काम नभएकाले यो कार्य जरुरी रहेको देखेर उनले निर्वाचनताका जनताका माझ त्यस्तो बैँकको अवधारणा ल्याएका थिए । रासस

प्रकाशित मिति : ३० असार २०७४, शुक्रबार ००:००