१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनिर्वाचित जनप्रतिनिधिसंग आयोगको आग्रह




काठमाडौँ
। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले साउन १ गतेदेखि सञ्चालन हुने फोटोसहितको मतदाता नामावली संकलन कार्यमा सहयोग पुर्याउन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिसंग आग्रह गरेका छन् ।

प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

फोटोसहितको मतदाता नामावली दर्ता सफ्टवेयर सञ्चालन गर्ने कम्प्युटर अपरेटरका लागि सञ्चालित दुईदिने तालीमको आज (बिहिबार) शुभारम्भ गर्दै उनले भने, “मतदान गर्ने उमेर पुगेका मतदातालाई जिल्ला सदरमुकाममा पुर्याएर मतदाता नामावलीमा नाम दर्ता गर्ने अभियानमा सहयोग पुर्याउन आयोग नवनिर्वाचित जनप्रतिनिधिसंग अपिल गर्छ ।”

नामावली संकलन गर्ने समय थोरै भए पनि आयोगले अनिश्चितताको बीचमा निश्चित काम गरेर देखाउने अठोट व्यक्त गर्दै उनले नामावली संकलनमा आयोगले अभियन्ताको भूमिका निर्वाह गर्ने बताए ।

मतदाता नामावलीमा नाम दर्ता गरी मतदान गर्ने नागरिकको कर्तव्य भएको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले पूर्वाधारलगायत कतिपय कठिनाइका कारण आयोगले ७४४ स्थानीय तहमा पुगेर भने नाम दर्ता गर्न नसक्ने अवस्था रहेको जानकारी दिए ।

नामावली संकलनमा शुद्धतामा कुनै पनि प्रश्न नआउने ढंगबाट कार्यसम्पादन गर्न तालीममा सहभागी प्रशिक्षार्थीलाई निर्देशन दिँदै उनले चुनावमा नामावलीको शुद्धता महत्वपूर्ण विषय भएकाले कुनै किसिमबाट कमीकमजोरी र गल्ती हुन नदिन सुझाव दिए ।

पछिल्ला निर्वाचनमा आयोगले नागरिकताका आधारमा औँलाको छाप भएको फोटोसहितको मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । आयोगले साउन १५ गतेसम्म संकलन गरेको नामावलीमा दाबी विरोधका लागि साउन १६ देखि २० गतेसम्मको समयावधि तोकेको छ ।

निर्वाचन आयोगले प्रदेशसभाको असोजको मसान्त तथा प्रतिनिधिसभाको निर्वाचन मंसिरको पहिलो साता गर्ने गरी मिति घोषणा गर्न सरकारलाई सुझाव दिइसकेको छ । तालीममा कालीकोट, बर्दिया, कञ्चनपुर, रोल्पा, काठमाडौँ, ललितपुर, सिन्धुलीलगायतका जिल्लाका कम्प्युटर अपरेटरको सहभागिता रहेको छ । रासस

प्रकाशित मिति : २९ असार २०७४, बिहिबार ००:००