१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पाका ग्रामीण सडक एक महिनादेखि अवरुद्ध, मर्मतको अभाव




उमा केसी,
रोल्पा । अविरल वर्षाका कारण ग्रामीण भेगमा चल्ने यातायातका साधन झण्डै एक महिनादेखि अवरुद्ध हुँदा रोल्पालीलाई आवतजावतमा सास्ती व्यहोर्नु परेको छ । सदरकमुकाम लिवाङ, घर्तीगाउँ र सुलिचौरवाट जिल्लाका ग्रामीण बस्तीसम्म साना सवारीसाधनबाट सेवा दिँदै आएका जलजला यातायात व्यवसायी समिति र जलजला यातायात प्रा।लि।का गाडीहरु बाटो अवरुद्ध हुँदा थन्किएर बसेका छन् ।

पश्चिम रोल्पाको ओत, रांसी, तालावाङ, घर्तीगाउ, दुईखोली र वागमारा तथा उत्तरी रोल्पाको खरिवोट, टुटु र थवाङसम्म सेवा दिँदै आएको जलजला यातायात प्रा।लि।का गाडी बाटो अवरुद्ध हुँदा दुईखोली र तालावाङमा मात्र सीमित भएको जलजला यातायात प्रा।लि। रोल्पाका अध्यक्ष नन्दवहादुर पुनमगरले बताए ।

पूर्वी रोल्पाको सुलिचौरवाट गाम, सिर्प, जेल्वाङ, फुलिवन, अरेश, जुतुङखोला र पोवाङसम्म सेवा दिँदै आएको जलजला यातायात व्यवसायी समितिका गाडी बाटो अवरोधका कारण हाल पोवाङसम्म मात्र चल्ने गरेको समितिका अध्यक्ष तेजविक्रम रावतले जानकारी दिए ।

जिल्लाको थवाङ–काठमाडौ, थवाङ–घोराही, दुईखोली–घोराही, घर्तीगाउँ–घोराही, टिला –घोराही र चुनवाङ –घोराहीका लागि बससेवा सञ्चालन गरेको सो समितिले सडक अवरुद्ध भएका कारण सबै ठाउँको सेवा बन्द गरेको अध्यक्ष रावतले जानकारी दिए । पश्चिमोत्तर सडक निर्माण तथा मर्मतको जिम्मा शहिद मार्ग सडक आयोजनाले लिएको छ भने पूर्वमा रहेका सडकको निर्माण र मर्मत सडक डिभिजन कार्यालय, चकचके, प्यूठानले लिँदै आएको छ ।

सडक डिभिजन कार्यालय र शहिदमार्ग सडक आयोजनासंग अविलम्ब सडक मर्मतका लागि समन्वय भएका कारण केही दिनमा सडक मर्मत हुनेमा आफूहरु आशावादी भएको जलजला यातायात व्यवसायी समितिका अध्यक्ष रावतले बताए ।

सडक मर्मतका लागि सम्बन्धित निकायमा आफूहरुले अनुरोध गरेको भएपनि सुनुवाइ नभएको यातायात व्यवसायीले बताएका छन् । बाटो मर्मतका लागि जनताबाट ठूलो दबाब आइरहेका कारण सम्बन्धित निकायले मर्मत नगरे यात्रुको चाप बढी हुने केही सडक व्यवसायी आफैँले मर्मत गरेर भएपनि यातायात सञ्चालन गर्ने जलजला प्रा।लि।का अध्यक्ष नन्दबहादुर पुनले बताए ।

वर्षातका कारण सडकमा पहिरो गइरहेका कारण सबै स्थानमा गाडी चलाउने गरी सडक मर्मत गर्न असम्भव रहेको शहिद मार्ग सडक आयोजना, रोल्पाका कार्यालय प्रमुख सुबोध देवकोटाले बताए । दुईखोलीसम्म गाडी नियमित चलाउनका लागि मेसिन चौबिसै घण्टा काममा लगाइएको उनले बताए ।

नयाँ कटिङका कारण झण्डै एक वर्षसम्म यस्तो समस्या भोग्नुपर्ने उनले बताए । हाल जिल्ला सदरमुकाम लिवाङवाट लामो दूरीमा चल्ने गाडीहरु मात्र नियमित सञ्चालनमा आइरहेका छन् । रासस

प्रकाशित मिति : २९ असार २०७४, बिहिबार ००:००