८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फीरुपमा सञ्चालन




बेनी
(म्याग्दी) । कालीगण्डकी नदीमा आएको बहावले कटान गरेपछि बिहीबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक शनिबार साँझदेखि खुलेको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकको अवरुद्ध भिरकाटे खण्डमा मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

वर्षाका कारण कालीगण्डकी नदीमा आएको बहावले अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा बेनी–जोमसोम सडकखण्डअन्तर्गतको अन्दाजी ३० मिटर सडक कटान गरेको थियो भने झन्डै १०० मिटर सडक प्रभावित बनाएको थियो । अवरुद्ध सडक खुलाउनका लागि जिल्लास्थित सुरक्षा निकाय र अन्नपूर्ण गाउँपालिकाले पहल गरेका थिए ।

उनीहरुको पहलमा सडक विभागको डोजर, दानामा निर्माणाधीन सवस्टेसनका दुईवटा र घलेम्दीखोला जलविद्युत् आयोजनाको एकवटा ट्रिपर परिचालन गरी सडकको अस्थायी मर्मतपछि एकतर्फी रुपमा खुलाइएको छ । अवरुद्ध सडक खुलाउन स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, प्रहरी, यातायात व्यवसायीलगायतले प्रयास गरेका थिए ।

डोजरको सहायतामा नदी र सडकको छेउछाउमा ठूलाठूला ढुङ्गा राखेर बाँध बानाइएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्याप्टेन डमबहादुर पुनले बताए । सडक सञ्चालनमा आएपछि भिरकाटेमा रोकिएका सानाठूला सबै सवारीसाधन पास गराइएको छ भने सिधा सडकको सम्बन्धविच्छेद भएको हिमाली जिल्ला मुस्ताङसंग पुनः सम्बन्ध जोडिएको छ ।

सङ्गमचोकदेखि कालीगण्डकी जाने पक्की बाटो निर्माण

यसैगरी बेनी नगरपालिका–७ को सङ्गमचोकदेखि कालीगण्डकी नदीतर्फ जाने पक्की बाटो निर्माण भएको छ ।

बेनी नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय बासिन्दाको सक्रियतामा १४२।५ फिट पिसिसी ढलान गरेर बाटो निर्माण गरिएको हो । नगरपालिकाको रु ९८ हजार अनुदान र उपभोक्ताको रु २० हजार २५२ बराबरको सहभागितामा बाटो निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

सवा ६ देखि आठ फिट चौडाइ भएको बाटो निर्माण भएपछि सङ्गमचोकदेखि जेसिज भवन हुँदै कालीगण्डकीमा स्नानका लागि जाने भक्तजन र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष सुरज श्रेष्ठले बताए । रासस

प्रकाशित मिति : २५ असार २०७४, आइतबार ००:००