५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चकोसी राजमार्गः सुर्खेतदेखि दैलेख सदरमुकामहुँदै चीनसम्म जोडिने



दैलेख । दैलेख ऐतिहासिक महत्वको जिल्ला भएकाले यहाँ रहेको पञ्चकोसी क्षेत्रलाई थप पहिचान र विकास गर्ने उद्देश्यका साथ पञ्चकोसी राजमार्ग निर्माण गरिने भएको छ ।

सरकारले बजेटमा सुर्खेतदेखि दैलेख सदरमुकाम हुँदै महावु–जुम्ला, रारा ताल हुँदै चीनसितको सम्बन्ध विस्तारका लागि नाँक्चे नाग्ला सम्मको सडक विस्तार गर्ने महत्वपूर्ण योजना ल्याएपछि दैलेखका बासिन्दामा खुसीयाली छाएको छ ।

पञ्चकोसी क्षेत्रको नामबाट दैलेख परिचित भएकाले उक्त सडकको नामै पञ्चकोसी राजमार्ग राखिएको अर्थ मन्त्रालयका सल्लाहकार डा पूण्यप्रसाद रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार दैलेख सदरमुकाम हुँदै पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण समेत हुने सडक भएकाले यसको नाम पञ्चकोसी राजमार्ग राखिएको छ । बजेटमा व्यवस्था गरेर रकम विनियोजनसंगै काम सुरु हुन्छ, रेग्मीले भने ।

पञ्चकोसी राजमार्ग सञ्चालन भएमा सुर्खेतको देउती बज्यै, दैलेखको कोटिला, शिरिस्थान, नाभिस्थान, पञ्चिस देवल, महावु धाम, जुम्लाको चन्दननाथ, मुगुको रारा हुँदै मानसरोवरसम्म सडकबाट पुग्न सहज हुनेछ भने चीनसँगको सम्बन्ध विस्तारका लागि सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

दैलेख जिल्ला भ्रमणमा आएका बेला दैलेखका पत्रकारले सञ्चालन गरेको पर्यटन महोत्सवलाई थप सहयोग पुग्ने अभियानसंगै पत्रकारले मुख्य मागको रुपमा राखेको दैलेखको कोटीला मन्दिर क्षेत्रमा मानव निर्मित ताल निर्माणमा समेत यो वर्षदेखि काम सुरु हुने रेग्मीले बताए ।

यो वर्ष अध्ययनका लागि रकम विनियोजन गरिएको छ । अध्ययनको प्रतिवेदनपश्चात थप रकम विनियोजनसंगै काम सञ्चालन हुन्छ, रेग्मीले भने । स्थानीय चुनावमा जिल्लाका सबै राजनीतिक दलको प्रतिबद्धतामा समेत उक्त कुरा उल्लेख गरिएको थियो ।

दैलेख सदरमुकामभित्र रहेका ऐतिहासिक कोतगडी र पञ्चदेवलको विकासका लागि पनि सरकारले रकम विनियोजन गरेको रेग्मीले बताए । यसअन्तर्गत विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सिफारिस भएको पञ्चिस देवलसम्म सहज आवतजावतका लागि गणेशचोक हुँदै भुर्ती पञ्चदेवल, पिउसेसम्म सडकले जोडिने भएको छ ।

दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष शान्तिप्रसाद शर्माले दैलेख सदरमुकामको भाग्य र भविष्य निर्धारणमा पञ्चकोसी राजमार्गले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यो सडकले जुम्ला, कालीकोटको आधा भूभागका मानिसको सम्बन्ध दैलेख सदरमुकामसँग जोड्ने बताए । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७४, बिहिबार ००:००