२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकको हेलम्बुमा ह्योल्मो संस्कृति झल्कने घर



माघ २२, मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ तेम्बाथानमा ह्योल्मो मौलिक संस्कृति झल्कने ४० घरधुरीको एकीकृत बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

विसं २०७२ को भूकम्पबाट प्रभावित स्थानीयवासीको ह्योल्मो संस्कृति झल्किने झ्यालको प्रयोग गरी बनिरहेका ४० मध्ये २३ घरको काम सम्पन्न भइसकेको छ । बाँकी घर, शौचालय र खानेपानीको काम एक महीनाभित्र सम्पन्न हुने एकीकृत बस्ती निर्माण समितिका अध्यक्ष साङ्गे लामाले जानकारी दिए ।

भूकम्पपछि पुनःनिर्माण भइरहेका घरमा ह्योल्मो कला संस्कतिको पुरानो मौलिक झ्याल ढोका प्रयोग नभएको पाइएको थियो । त्यसपछि यसको लोप हुने अवस्था आएको भन्दै स्थानीयवासीको सुझाव र सरकारको भूकम्प प्रतिरोधी भवन निर्माणको नक्सा अनुसार ह्योल्मो कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नाम्बाखुसुङ झ्यालको प्रयोग गरेर बस्ती निर्माणको काम भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । एकीकृत बस्तीको निर्माणसँगै घरबास सञ्चालन गरेर पर्यटन प्रवर्द्धनको लागि गाउँपालिकाले सहयोग गर्ने समेत बताए ।

ह्योल्मो संस्कृतिको मौलिक कला झल्किने एउटा झ्याल बनाउन करीब ८० हजार लाग्ने सो निर्माणाधीन एकीकृत बस्तीमा ‘इन्टरलक’ इँटाको प्रयोग गरी तीनकोठे घर, शौचालय, एक घर एक धारासहितको प्रति घर जनश्रमदानसहित अनुमानित १० लाख ५० हजार लाग्ने बताइएको छ ।

जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोक र अक्सफामको तीन करोड तथा हेलम्बु गाउँपालिकाको एक करोड आर्थिक सहयोगमा बस्ती निर्माण भइरहेको जनहित ग्रामीण सेवा समिति, सिन्धुपाल्चोकका कार्यकारी निर्देशक राजेद्र शर्माले जानकारी दिए । रासस

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार ००:००