१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुलरिया जोगाउन तटबन्ध निर्माण गरिने



 

मङ्सिर ११, धम्बोझी । बर्दियाको सदरमुकाम गुलरियालाई बबई नदीमा आउने बाढीबाट जोगाउन यस वर्ष करीब छ किलोमिटर तटबन्ध निर्माण गरिने भएको छ ।

नदी व्यवस्थापन गर्न सञ्चालनमा आएको बबई भादा औराही नदी व्यवस्थापन आयोजनले जोखिमयुक्त स्थानहरूमा नदी व्यवस्थापनलाई तीव्र रूपमा अगाडि बढाएको छ । गुलरिया नगरपालिकाको पण्डितपुर, जब्दिघाट, रामपुरटापु बालापुर, प्रयागपुर, पशुहाट, थपुवा र लट्कनियाबाट नदी शहर पस्ने गरेको छ ।

नदीले वर्षेनि विध्वंश मच्चाउँदा बर्दियावासी हैरान भएका थिए । बबई नदी व्यस्थापन गर्न भनेर बबई भादा औराही नदी व्यवस्थापन आयोजना स्थापना गरिएको थियो । यस आयोजनाका लागि प्रत्येक वर्ष ७८ करोड विनियोजन हुने भएको भए पनि चालु आवमा सरकारले २१ करोड ५० लाख मात्र उपलब्ध गराएको बताउँदै आयोजना प्रमुख जीतबहादुर थापाले रकम थप गर्न सबै सक्रिय भएर लाग्नुपर्ने बताए ।

उनले पाँच वर्षभित्र बबई नदीको दाहिने किनारातर्फ पर्ने सङ्गम बस्तीदेखि भारतीय सिमानाको लट्कनिया गाउँसम्म २८ किलोमिटर नदी व्यवस्थापन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार भएको र त्यसै अनुरूप तीव्र गतिमा काम भइरहेको बताए । बबई नदी व्यवस्थापनमा यतिबेला १५ स्थानमा धमाधम काम भइरहेको छ ।

प्रत्येक वर्ष आउने बाढीले गुलरियावासीको जीवनयापनमा निकै समस्या पार्ने गरेको हुनाले तीव्र गतिमा काम अगाडि बढे बाढीबाट नगरवासीलाई मुक्त गराउन सकिने भएकाले तीव्र रूपमा काम अगाडि बढाउनुपर्ने गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले बताए ।

गुलरिया नगरपालिकाको सङ्गम बस्तीबाट नदी पस्दा संरक्षित जनावर कृष्णसार समेत सङ्कटमा परेको गुलरिया नगरपालिका २ का वडाध्यक्ष टङ्क अधिकारिले बताए ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार ००:००