१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक खन्ने क्रममा खानेपानीको मुहान पुरिँदा समस्या



फागुन २०, पाल्पा । डोजरको प्रयोग गरी सडक खन्दा खानेपानीको मुहान पुरिँदा पानीको समस्या भएको छ । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित छेउफानमा खानेपानीको मुहान पुरिएको स्थानीय बासिन्दाको गुनासो छ ।

रैनादेवी छहरा गाउँपालिका–२, वडा कार्यालयबाट १० लाख लगानीमा रैनादेवी छहरा गाउँपालिका–४, धजाबान्नेबाट तान्सिङगलसम्मको मोटर बाटो विस्तार गरिएको हो । सडक विस्तारका क्रममा जथाभावीरुपमा डोजरको प्रयोग गरी माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहानमा माटो र ढुङ्गाले पुरिएपछि खानेपानीको समस्यासमेत देखिएको स्थानीयवासी नुरबहादुर बुढाथोकी गुनासो गर्छन् ।

स्थानीयावासी गोविन्द भण्डारीका अनुसार मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको उच्च समस्या छ । स्थानीयवासीले प्रयोग गर्ने खानेपानीका मुहानमा सडक विस्तारका क्रममा मुहान सुक्दा समस्या सिर्जना हुँदै आएको छ ।

जथाभावी सडक विस्तारले वातावरणसमेत बिग्रने देखिएको छ । गाउँमा जाने खानेपानीको टङ्की र बजार जाने आउने छोटो बाटो सबै पुरिएपछि समस्या भएको हो । वर्षातको समयमा फेरि समस्या हुन सक्ने चिन्ता छ ।

धजा बान्नेबाट तान्सिङगलसम्मको मोटरबाटो फराकिलो बनाएको रैनादेवी छहरा गाउँपालिका–२, वडाध्यक्ष जीवनाथ पोखरेलले बताए । मोटर बाटो उपभोक्ता समिति अध्यक्ष हरिप्रसाद पोखरेलले सडक विस्तारका क्रममा समस्या देखिएको बताए । उनले भने, “मोटरबाटो विस्तारका क्रममा देखिएका समस्या दुई पक्षबीचको आपसी भेला गरी समधान खोजिने छ ।” रासस

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार ००:००